ओली–प्रचण्डबीच भयाे सहमति, नेकपाले टुंग्यायो एकताको सम्पूर्ण काम

 असार ३१, २०७६ मंगलबार २०:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी एकता प्रक्रियाका सम्पूर्ण काम टुंगो लागेको छ ।

मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले पार्टी एकताको बाँकी कामलाई टुंगोमा पुर्‍याएको हो । अध्यक्षद्वयसँगको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुनुहुन्थ्यो ।

छलफलमा सहभागी महासचिव विष्णु पौडले पार्टी एकताका सम्पूर्ण बाँकी कामहरु टुंगोमा पुगेको उज्यालाेलाई जानकारी दिनुभयो । दुई अध्यक्षबीच भएको सहमतिलाई चाँडै नै सचिवालय बैठकमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारेलगायतका विषयमा सहमति भएको हो ।

नेकपाका अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो एउटा कार्यक्रममा अर्का अध्यक्ष ओली र आफूबीच भएको  सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने बताउनु भएको थियो ।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गएको वर्षकाे जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता भए पनि केही कुरा भने टुंगिन बाँकी रहेको थियो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया