अपाङ्गमैत्री भवनकाे माग गर्दै प्रदर्शन गर्नेलाई ह्वीलचेयरसहित प्रहरीकाे गाडीमा हालियाे

 साउन २, २०७६ बिहिबार १८:५७:४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मन्त्रालय र कार्यालय अपाङ्गमैत्री नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले विरोध गरेका छन् । 

अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गमैत्री संचरना बनाउन माग गर्दै कुटो र कोदालो लिएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिँढी भत्काउने प्रयास गरेका थिए । सिँढी भत्काउन खोज्ने १७ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

कसैलाई जानकारी नै नगराई सिधै आएर सिँढी भत्काउन थालेपछि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । यता अपाङ्गता भएका व्यक्तिहरुले भने मन्त्रालय तथा कार्यालयहरु अपा¨मैत्री नहुँदा आफूहरुलाई असहज भएको गुनासो गरेका छन् । 

मुख्यमन्त्री र मन्त्रीहरुलाई नै भेटेर पटक–पटक भन्दा पनि आफ्नो मागको बेवास्ता गरेको किशोर शाहीले बताउनुभयो । मुख्यमन्त्री र मन्त्रीहरु भवनको माथिल्लो तलामा बस्दा भेट गर्न नसकेको उनीहरुको भनाइ छ । ‘मुख्यमन्त्री र मन्त्रीहरु माथिल्लो तलामा बस्नुहुन्छ । हामी सिँढी चढेर माथि जान सक्दैनौँ’ किशोरले भन्नुभयो, ‘पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि हाम्रा माग पूरा नभएपछि सिँढी भत्काउन खाजेका हाैँ ।’ 
    

उनीहरुले 'अपाङ्गमैत्री भवन निर्माण गर', 'हाम्रा अधिकार सुनिश्चित गर' भन्दै नारा लगाएका थिए । पक्राउ पर्नेमा कृष्णबहादुर आचार्य, शान्ती भट्टाई, किशोर शाही, मनराज कठायत, खगेन्द्र शाही, सुशिला चौधरी, तर्कबहादुर विक, झक्त पौडेल, कमल शाही, धनकुमारी चौधरी, टिकाराम विक, रामकुमारी विकलगायत रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता प्रतिव क्षेत्रीले मन्त्रालयको सिँढी  र गमला फुटाएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया