फाप्ला क्रिकेट मैदानले आवश्यक जग्गा पाएन, १८ करोड बजेट ‘फ्रीज’

 साउन ४, २०७६ शनिबार १३:३०:४१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूर पश्चिम प्रदेशको खेलकुद र पर्यटनसँग जोडिएको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रगंशला बनाउने प्रक्रिया जग्गा प्राप्तिमै अल्झिएको छ । 

सुदूर पश्चिम प्रदेश सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको फाप्ला क्रिकेट मैदानका लागि हालसम्म जग्गासमेत प्राप्त गर्न सकेको छैन । फाप्ला क्रिकेट मैदानका लागि जग्गा प्राप्ति नहुँदा आर्थिक वर्ष २०७५-७६ मा स्थानीय प्रदेश र केन्द्र सरकारले विनियोजन गरेको १८ करोड बजेट फ्रिज भएको छ । 

सुदूर पश्चिममा क्रिकेटप्रतिको आकर्षण बढेसँगै यस क्षेत्रमा राष्ट्रियस्तरका ठूला प्रतियोगिता समेत हुन थालेपछि क्रिकेट मैदानको आवश्यकता महसुस गर्दै कैलाली जिल्ला खेलकुद विकास समितिले फाप्ला क्रिकेट मैदानमा केही लगानी गरेर निर्माण थालेको थियो । त्यो लगानीले प्रतियोगितासम्म गर्न मिल्ने मैदान तयार भयो । 

तर फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला भएको हेर्न चाहने यस क्षेत्रका नागरिकको आशा पूरा हुने समय भने लम्बिँदै गएको छ । तीनै तहका सरकारले बजेट विनियोजन गरे पनि बजेट कार्यान्वयनका लागि जग्गा नै प्राप्त नगर्दा मैदान निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

सरकारकै कमजोरीका कारण फाप्ला अन्तर्राष्ट्रिय रगंशालाको काम अगाडि बढ्न नसकेको बताउँदै कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले भन्नुभयो, ‘आवश्यक काम अगाडि नबढाएर बजेट मात्रै विनियोजन गरेर पुग्दैन । जग्गा प्राप्त गरेर प्रदेश र केन्द्र सरकारले फाप्ला अन्तर्राष्ट्रिय रगंशाला निर्माणमा चासो दिनुपर्छ । 

देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग आयोजना गर्दै आएको धनगढी क्रिकेट एकेडेमीले ‘ड्रिम फाप्ला अभियान बनाएर पनि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सञ्चालन गर्दै आएको छ । केही महिनाअघि मात्रै सम्पन्न भएको धनगढी प्रिमियर लिगको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा आयोजना गर्दै तीन वटै सरकारलाई दबाबसमेत दिइएको थियो । तर जग्गा प्राप्तिको ढिलाइले विनियोजन गरेको बजेट पनि खर्च हुन सकेको छैन । 

प्रदेश सरकारले प्रदेशको गौरवको योजनामै राखे पनि जग्गा प्राप्त गर्न नसक्नु दुखद् कुरा हो । तर बजेट अभावमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणको काम रोकिँदैन । तर सरकारले जग्गा प्राप्तिको काम चाँडो गर्नुपर्छ । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भन्नुभयो, ‘सरकारलाई दबाव पुगोस् भन्ने उद्देश्यले धनगढी प्रिमियर लिग फाप्लामा गरिरहेका छौँ । यसबाट बचेको केही रकम समेत फाप्ला अन्तर्राष्ट्रिय रगंशाला निर्माणका लागि छुट्याइरहेका छौँ । 

सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जग्गा प्राप्तिका लागि संघीय सरकारसँग पहल गरिरहेको जनाएको छ । मन्त्रालयका सचिव नै गएर फाइल संघीय सरकारमा पुर्‍याए पनि जग्गा प्राप्तिको काम अगाडि नबढेको सामाजिक विकास मन्त्रालयको स्पष्टोक्ति रहेको छ ।

‘जग्गा प्राप्तिका लागि संघीय सरकारसँग सक्दो पहल गरिरहेकै छौं । मन्त्रालयका सचिव नै गएर फाइल सरकारलाई बुझाउँदा पनि काम भएको छैन, मन्त्रालयका उप–सचिव झंकर विष्टले भन्नुभयो, ‘प्रदेश सरकारबाट सकिने काम मन्त्रालयले गरिरहेको नै छ । अझ पनि फाप्ला क्रिकेट मैदानको जग्गा प्राप्त गर्ने बिषयमा पूर्ण पहल गर्नेछौँ । 

प्रदेश सरकारले गौरव योजनाका रुपमा अगाडि सारेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला कसको नाममा हुने भनेर अहिलेसम्म निर्क्याेल गर्न सकिएको छैन ।

केन्द्र सरकारलाई जग्गा प्राप्तिका लागि पहल गर्नमै प्रदेश सरकारको एक वर्ष बित्यो । यो आर्थिक वर्षका लागि पनि प्रदेश सरकारले गुरुयोजना बनाउने भन्दै १ करोड रुपैयाँ विनियोजन गरेको छ । अब बजेट विनियोजन मात्रै नगरी सबै पक्षले जग्गा प्राप्तिको पहलमा लागेर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणको अभियान अगाडि बढाउनुपर्ने यसक्षेत्रका खेलप्रेमीहरुको सुझाव छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया