तीन दिनसम्म देशभर पानी पर्ने, सतर्क रहन आग्रह

 साउन ६, २०७६ सोमबार ७:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अबको तीन दिनसम्म देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले पनि पूर्वी तथा मध्य क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको र अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी भू–भागमा पनि आंशिकदेखि सामान्य बदली भई १/२ स्थानमा अहिले पानी परिरहेकाे छ । 

मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको महाशाखाले जनाएको छ । 

देशका पूर्वी तथा मध्य क्षेत्र एवं पश्चिम क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।  

सोमबार दिउँसो देशको पूर्वी र मध्य भू–भागमा अधिकांस क्षेत्रमा वर्षा हुने छ । यस्तै पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसोदेखि रातीसम्म नै वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँमा रहेकाहरु सतर्क भएर बस्न पनि महाशाखाले अनुरोध गरेको छ ।  

यस्तै मंगलबार पनि देशका पूर्व र मध्य क्षेत्रका अधिकांस स्थानमा नै पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मंगलबार पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना देखिएकाले नदीको बहाब बढ्ने देखिएको छ । 

बुधबार भने देशैभर सामान्यदेखि पूर्ण बदलि भई अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । केही स्थानमा भने भारी वर्षा र अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।    
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया