महोत्तरीमा भारतीय तीर्थयात्री बोकेको पिकअप भ्यान दुर्घटना, २८ जना घाइते

 साउन ६, २०७६ सोमबार १८:५७:१७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – बर्दिवास नगरपालिका–५ मा रहेको टुटेश्वरनाथ मन्दिर दर्शन गरेर फर्किएकाे पिकअप दुर्घटना हुँदा २८ जना भारतीय तीर्थयात्रीहरु घाइते भएका छन् । 

सोमबार बर्दिवास नगरपालिका–५ को पूर्व पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय तीर्थालु सवार रहेको ना ४ च १०९९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो ।

टुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कने क्रममा दुर्घटना हुँदा २८ जना भारतीय तीर्थयात्री घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको छ । 

घाइते सबै भारतीय जिल्ला सीतामढीको बघारी गाउँका रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । यात्रु कोचाकोच गरेर राखेको पिकअप भ्यान पल्टिन बित्तिकै चालक भने फरार भएका छन् ।

पिकअप भ्यानका सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० वर्षीय वीरेन्द्र सिंह पनि घाइते हुनुभएको छ । पिकअप भ्यान र सहचालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया