प्रचण्डको प्रश्न : अब फेरि राजा आइदिए क्रान्ति हुन्छ त ?

 साउन १३, २०७६ सोमबार १४:४८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव आफूहरुसँगै आउनुको विकल्प नभएको बताउनुभएको छ ।  

‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, अरु कुनै उपाय छैन, या त सिद्धिनु पर्छ’, उहाँले भन्नुभयो, ‘या त उही पेरु जस्तो हुने अवस्था छ । तर पेरुको जस्तो हाइटमा त फेरि जाँदैन नि अब त ।’ ‘कि त सिद्धिनु पर्छ कि त यहाँ आउनु पर्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यसैले जहाँ बिउँझियो त्यहीँबाट उठेर हिँड्ने हो ।’  

सोमबार खुमलटारमा विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी लागेको भन्दै उहाँले यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा औँल्याउनुभयो । 

कतिपय परिवर्तन नचाहनेहरुले ‘प्रचण्डलाई हेगमा लैजाने रे, अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने रे, एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरेको उहाँले बताउनुभयाे ।  

‘आज पनि एउटा सञ्चारमाध्यमले १३ हजार मान्छे मारेको, स्कुल भत्काको, मन्दिर भत्काको यस्तोलाई अहिले राजनेता मानेर हिँड्ने भनेर लामो लेखेको रहेछ, बिहान बिहानै हेरे मैले’, उहाँले भन्नुभयो, 'यो भनेको परिवर्तन नचाहनेहरुको ग्राण्ड डिजाइन हो ।’

अध्यक्ष प्रचण्डले हेग लगे आफू विश्वकै हिरो भएर निस्कने पनि बताउनुभयो । ‘हेग लगे पनि मलाई केही हुँदैन त्यहाँ लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ उहाँले भन्नुभयो, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । त्यो हुन दिन चाहँदैनन् ।’

हेग पुर्‍याए संसारका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्ने भन्दै प्रचण्डले त्यो आफ्ना लागि गर्वको कुरा हुने पनि बताउनुभयो । 

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म आफूहरु कोही पनि कमजोर नहुने भन्दै उहाँले यो नै उल्टियो भने नेपालले दु:ख पाउने नेपालनै बर्बाद हुने बताउनुभयो ।  देशलाई माया गर्ने र परिवर्तन चाहनेहरु एक भएर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । 

‘अझै कोही कोही साथीहरु बिउँझिएका छैनन्, तिनीहरुलाई लागेको छ जतिजति उल्टो उल्टो दिशातर्फ गयो उति क्रान्ति हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यो भनेको मार्क्सवाद विरोधी कुरा हो । उल्टो दिzfमा गएर कहिल्यै क्रान्ति हुँदैन ।’ 

अध्यक्ष प्रचण्डले नेपालमा अब फेरि राजा आइदिए वा अरु कुनै प्रतिक्रियावादी शक्तिहरुले कब्जा गरे क्रान्ति हुन्छ त भन्दै प्रश्न पनि गर्नुभयो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया