हजयात्रामा दुई लाख कमाइ हुने भन्दै ठगी

 साउन १३, २०७६ सोमबार १६:३१:१३ | दुर्गाप्रसाद भट्टराई
unn.prixa.net

सेख फिरोज र फिरोज अन्सारी

सर्लाही – तीन महिनामा दुई लाख कमाउने सपना देखाएर सर्लाहीका शेख फिरोज नामका एक व्यक्तिले त्यहीँका ४५ जना युवालाई ठगेका छन् ।

उनले ती युवाहरुलाई हजका लागि मक्का जाने हजयात्री (हाजी)को सेवा गर्न तीन महिनाको भिसा आउने भन्दै प्रलोभन देखाएर ठगी गरेका हुन् । 

‘हजयात्रीको सेवा पनि हुने र कमाई पनि हुने आशमा हामीलाई प्रलोभनमा पार्‍याे’, सर्लाही फरहदवाका हसमदिन शेखले भन्नुभयो, ‘थोरै/थोरै रकम उठाए पनि सबैबाट गर्दा उसले धेरै रुपैयाँ ठगी गरेको छ ।’

योभन्दा पहिले पनि फिरोजले गाउँकै केही युवालाई विदेश पठाइसकेका थिए । उनीहरुले राम्रो कमाइ गरेको देखेर गाउँका अन्य युवाहरु पनि फिरोजको पछि लागे ।

‘प्रति व्यक्ति १० हजार रुपैयाँ लिएर फिरोजले धेरै जनालाई साउदी पठाएका थिए’, सर्लाही फरहदवाका पीडित अब्दुल्लाह शेख भन्नुहुन्छ, ‘उनीहरुले राम्रो पैसा कमाएर फर्केका थिए । त्यही देखेर हामी पनि फिरोजको विश्वासमा पर्‍याैँ।’

फिरोजले ४५ जना युवामध्ये ९ जनालाई दुबई पठाउने भन्दै प्रति व्यक्ति एक लाख रुपैयाँ लिएको पाइएको छ । शेख फिरोजलाई उनकै मित, जनकपुरका फिरोज अन्सारीले यस काममा सहयोग गर्ने गरेका छन् । 

उनीहरुले कुनै एकजनालाई फकाउने, उसलाई विश्वास दिलाउने र उसैद्वारा अरु युवाबाट पैसा उठाउने गरेको पीडितहरु बताउँछन् । 

हरिवनका कलाम दर्जीलाई पनि फिरोजले यसैगरी प्रयोग गरे । कलाम दर्जीले ३६ जना युवाबाट प्रति व्यक्ति १० हजार रुपैयाँ उठाएर शेख फिरोजलाई दिएका थिए । उनले त्यो पैसा उनका मित जनकपुरका फिरोज अन्सारीलाई दिएको पीडितहरु बताउँछन् ।

फिराेजकाे ठगीमा पर्नेहरु

कलामले ती ३६ जनालाई नै काठमाण्डौ लगेका थिए । तर त्यहाँ फिरोजसँग सम्पर्क नभएपछि फर्काएर सर्लाहीमै ल्याएका छन् । 

अहिले कलाम पनि फिरोज र उनका मितले आफूलाई आश्वासन दिएर ठगेको भन्दै ३६ जनालाई नै लिएर हरिवनमा रहेको आप्रवासी स्रोत केन्द्रमा पुगेका छन् ।

अहिले स्रोत केन्द्र फिरोज अन्सारीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । 

तर पैसा फिर्ता दिने नियत नदेखिएकाे र पीडितलाई मात्र झुलाउने काम गरिरहेको भन्दै  एजेण्टलाई कारबाहीको लागि थप कानुनी प्रक्रिया  अगाडि बढाइएकाे सम्पर्क केन्द्रले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

दुर्गाप्रसाद भट्टराई

दुर्गाप्रसाद भट्टराई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, फिल्ड अफिस ढल्केवर अन्तर्गत मधेस प्रदेश मनोसामाजिक सुपरभाइजर हुनुहुन्छ ।  उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया