पहिरोले बन्द भएको खाँदबारी–किमाथाङ्का सडक एक महिनापछि खुल्यो

 साउन १४, २०७६ मंगलबार १३:३७:२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का जाने सडकखण्ड अन्तर्गत मकालु गाउँपालिकाको नयाँबस्तीमा गएको पहिरो हटाएपछि सडक खुलेको छ ।

अविरल वर्षापछि गएको असार २ गते खाँदबारी—किमाथाङ्का सडकखण्ड अन्तर्गत मकालु गाउँपालिकाको – ५ र ३ जोड्ने नयाँबस्तीमा सडक माथिबाट पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि विकट उत्तरी क्षेत्रसँगको सम्पर्क नै टुटेको थियो । 

पहिरो हटाउन स्थानीयहरुले पटक–पटक प्रयास गरे पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि लामो समय लागेको स्थानीयहरुले बताए । भिरालो भूभाग र अर्को वैकल्पिक बाटोसमेत नहुँदा स्थानीयहरुलाई फ्याक्सिन्दादेखी नयाँबस्ती जान मुस्किल पर्ने गरेको थियो । पहिरोले पैदल हिँड्ने स्थानीयबासिन्दा समेत आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएपछि स्थानीय, सडक कार्यालय, अरुण तेस्रो आयोजना र नेपाली सेनाको सहयोगमा पहिरो हटाएर पैदल आवातजावात गर्न सहज बनाएको हो ।

तर स्थानीयहरुले यातायातका साधनहरु नै आवात–जावात गर्ने बनाउनका लागि मकालु गाउँपालिका, उत्तरदक्षिण कोशी सडक र अरुण तेस्रो आयोजनालाई बाटो मर्मतका लागि अनुरोध गरेको थियो । सदरमुकाम खाँदबारीदेखि उत्तरीक्षेत्र भोटखोला गाउँपालिका जाने मुख्य सडक नै अवरुद्ध भएपछि लगातार रुपमा पहिरो हटाउन लागि परेको उत्तरदक्षिण कोशी सडक आयोजना प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो ।

पहिरोले अवरुद्ध बनेको खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा आएपछि स्थानीयहरु खुशी भएका छन् । केही साता अघि भोटखोला सरोकार समाजले पहिरोले सडक बन्द भएपछि भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको भन्दै सबैतिर ध्यानाकर्षण गराएका थिए । जतिसक्दो चाँडो पहिरो हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मकालु युवा समाज र भोटखोला सरोकार केन्द्रले ज्ञापनपत्र समेत बुझाएका थिए ।

सडक अवरुद्ध भएपछि मकालु गाउँपालिकाका विभिन्न वडा र भोटखोला गाउँपालिकाको सीमावर्ती विकट क्षेत्र किमाथाङ्का, हटिया, हुङहुङ, चेपुवा र च्याम्ताङलगायत बस्तीहरुसँग प्रत्यक्ष रुपमा यातायात सेवाबाट बञ्चित भएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया