पहिलोपटक मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार रुपैयाँभन्दा माथि

 असार २५, २०७५ सोमबार १८:५३:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको न्यूनतम पारिश्रमिक तोकेको छ । 

मन्त्रालय, न्यूनतम पारिश्रमिक निर्धारण समिति, ट्रेड युनियनहरु र रोजगारदाता उद्योगीहरुबीच सहमति भएपछि मन्त्रालयले मजदुरको मासिक न्यूनतम  तलब १३ हजार ४ सय ५० रुपैयाँ कायम गरेको हो । तर यो निर्णयमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेसले भने असहमति जनाएको छ । तर कंग्रेसबाहेक अरु ट्रेड युनियन, उद्योगी र न्यूनतम पारिश्रमिक निर्धारण समितिबीच न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पु¥याउने सहमति भएपछि मन्त्रालयले पनि सहमति गरेको हो । 

अहिले मजदुरको न्यूनतम तलब ९ हजार ७ सय  रुपैयाँ रहेकोमा ३९ प्रतिशत भन्दा धेरैले बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्‍याइएको छ । मजदुरको तलब यति धेरै अनुपातमा बढेको यो पहिलो पटक हो  । बढेको तलबबाट १० प्रतिशत सञ्चयकोष, ८ दशमलब ३३ प्रतिशत उपदान, र १ दशमलब ६७ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ । बढेको तलबमा चाडपर्व खर्च, बिदा वापतको भुक्तानी, सुत्केरी भत्ता, बीमालगायतका योजना नजोडिएकोले अब मजदुरको न्यूनतम तलब १५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । 

बढेको तलबमा ट्रेड युनियन कांग्रेसले असहमति जनाए पनि सत्तारुढ दल सम्बद्ध ट्रेड युनियनले भने सहमति जनाएका छन् ।
 

यो तलबमा सबैजसो उद्योगका छाता संगठनले पनि सहमति जनाएका छन् । मन्त्रालयमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले उद्योगहरुको अवस्था राम्रो नभए पनि न्यूनतम पारिश्रमिक लागु गर्ने जनाएका छन् । 

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले अब साउन १ गतेदेखि नै नयाँ तलब लागू हुने र सबै मजदुरको तलव बैंक खातामा जाने भएकाले कुनै पनि उद्योगले मजदुर ठग्न वा न्यूनतम भन्दा तल तलब दिन नपाउने बताउनुभयो । 

दैनिक ज्याला ५ सय १७ रुपैयाँ

यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको न्युनतम दैनिक ज्याला पाँच सय १७ रुपैयाँ निर्धारण गरेको छ । अब कुनै पनि क्षेत्रमा काम गर्ने मजदुरले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउनेछन् । यस्तै घन्टाको आधारमा काम गर्ने मजदुरले प्रतिघन्टा ६९ रुपैयाँ ज्याला पाउनेछन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

2 Comments

  • Sanyog chamling

    July 9, 2018, 8:40 p.m.

    हरेक दुई बर्षमा हेरेफेर हुनुपर्ने यो मजदुर श्रमिकहरुको पारिश्रमिक चौथो बर्षमा बल्ल हुंदैछ , यसमा कांग्रेस आवद्ध ट्रेड युनियन को आपत्ति, असहमति उपयुक्त हुन्न / साना ठुला भए पो नागरिक समान हुँदा देश बन्छ /

  •  0 Reply
  • नवराज सापकाेटा काभ्रे

    July 9, 2018, 8:11 p.m.

    न्युनतम्् पारिश्रमिक ९ हजार ७ सय हुंदा सरकारी कार्यलयमा नै ६ हजार मासिक ज्यला बुझ्ने कर्मचारी थुप्रै छन् ।ताेकेकाे न्युनतम् ज्याला देऊ भन्ने उनीहरूकाे अावाज कसैले सुनेन । फेरि अहिले ज्याला बढेर १३ हजार नै पुगेछ ।ती सरकारी कर्मचारी लै नै त्याे तलब चाहिँ कहिले पाउने हाे सरकार ?याे १३ हजार त देखाउने दांत मात्र हाेइन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया