बोर्ड बैठकको विशेष निर्णय अनुसार सुर्वितालाई तीन लाख रुपैयाँ क्षतिपूर्ति

 साउन १७, २०७६ शुक्रबार १२:२:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – चार वर्षअघि साउदीमा भएको गाडी दुर्घटनामा छोरो गुमाएकी बाग्लुङकी सुर्विता भण्डारीले तीन लाख रुपैयाँ क्षतिपूर्ति पाउनुभएको छ । 

साउदीमा बितेका छोराको अन्तिम संस्कार पनि अरुले नै गरिदिएपछि पीडामा परेकी सुर्वितालाई क्षर्तिपूर्ति दिने वैदेशिक रोजगार बोर्ड बैठकले निर्णय गरेको थियो । गएको असार ८ गते बसेको बोर्ड बैठकको विशेष निर्णय अनुसार सुर्विताले बिहीबार तीन लाख रुपैयाँ पाउनुभएको हो ।

२०७२ असारमा साउदीमा भएको ट्याक्सी दुर्घटनामा सुर्विताका छोरा तेजेन्द्र भण्डारी सहित अरु चार जना नेपालीको ज्यान गएको थियो । तर तेजेन्द्रको शव अरुकै भनेर नेपाल पठाउँदा आमा सुर्विताले छोराको अन्तिम संस्कार पनि गर्न पाउनुभएको थिएन । 

यसरी अन्यायमा पर्नुभयो सुर्विता

तेजेन्द्रले चलाएको ट्याक्सी दुर्घटनामा मोरङका सुवास तामाङ पनि पर्नुभएको थियो ।

साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुण्डाई कम्पनीका काम गर्ने चारजना नेपालीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले चालक तेजेन्द्रकोे भने उपचार भइरहेको खबर दियो । 

त्यो दुर्घटनाको २७ दिनपछि हुण्डाईमा काम गर्ने सुवासको शव काठमाण्डौ आइपुग्यो । परम्परा अनुसार सुवासकी श्रीमतीले श्रीमान सुवासको घेवा अर्थात मृत्यु संस्कार गर्नुभयो । 

सुवासको परिवार शोकमा डुबेको बेला बाग्लुङमा तेजेन्द्रकी आमा उपचार गराइरहेको छोराको होस खुलोस् भनेर भगवान पुकार्दै हुनुहुन्थ्यो । तर, उल्टोपाल्टो र हुने हुनामी पहिले नै भैसकेको थियो । 

साउदीमा उपचार गराइरहेका घाइतेको अनुहारको पट्टी तीन महिनापछि खोलियो । तर, पट्टीभित्रको अनुहार तेजेन्द्रको नभएर बाकसमा लास ल्याएर काजकिरिया गरिसकेका सुवासको थियो । 

किरिया गरिएको मानिस जीवित भेटियो, उपचारपछि छोरा सञ्चो भएको खबर सुन्न भगवानसित प्रार्थना गरेर बसेकी तेजेन्द्रकी आमा सुर्विताले छोरालाई अरु कसैले दागबत्ती दिएको खबर सुन्नु पर्‍यो । सुवासको परिवारले नै तेजेन्द्रको शव आफ्नो मानिसको ठानेर तीन महिना अघि नै सदगत गरिसकेको थियो । 

दुवै परिवारलाई न्याय

दुई परिवारको कथा व्यथा समेटेर उज्यालो मल्टिमिडियाले तयार पारेको वृत्तचित्र ‘मरिसकेको मान्छे’ हेरिसकेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले क्षतिपूर्तिको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

मन्त्री विष्टकै प्रतिवद्धता अनुसार नै सुर्वितालाई क्षतिपूर्ति रकम दिने निर्णय बोर्ड बैठकले गरेको थियो । कानुनमै यस सम्बन्धी घटनामा के गर्ने भनेर व्यवस्था नभएकाले बोर्ड बैठकबाट विशेष निर्णय गर्दै दुवै परिवारलाई न्याय हुने गरी निर्णय भएको हो । 

तेजेन्द्रको शव सुवासको नाममा नेपाल आइसकेको र तेजेन्द्रको मृत्यु साउदीमा भएको हो भन्ने लिखित प्रमाण नभएका कारण यस्तो अवस्थामा तेजेन्द्रको परिवारलाई न्याय दिन बोर्ड बैठकले विषेश निर्णय गरेको हो ।

सुवासको परिवारले दाहसंस्कार गरी नियमानुसार सचिवालयबाट आर्थिक सहायता समेत प्राप्त गरे पनि सुवास तामाङ जीवितै नेपाल फर्कनुभएको थियो, तर शारीरिक र मानसिक रुपमा विक्षिप्त भएर ।

त्यसैले बोर्ड वैठकले सुवासको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायतालाई स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय गरेको छ । 

यसका साथै सुवास तामाङको हकमा समेत उचित निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय पनि भएको बोर्डले जनाएको छ ।
 

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया