चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
एकजना आशालाग्दा मान्छे उति आश नभएको ठाउँमा पुगे । खिर खानुपर्ने दिनमा शपथ खाए । त्यसपछि फेसबुक र ट्वीटरमा खिरका फोटोलाई छपक्क छोपेर शपथ खाने आशालाग्दा मान्छेको तस्बिर छापिए ।
आशलाग्दो मान्छेसँग अँगालो हालेको, सँगै बसेको, अघिल्तिर उभिएर ङिचिक्क हाँसेको, पछिल्तिर हो कि हो कि जस्तो देखिएको थरीथरीका फोटो राख्नेको होडबाजी चल्यो । कतिले मोबाइलको ग्यालेरी र फेसबुकको एल्बममा पनि फोटो भेटेनन् । भेट्नेले त उतिखेरै बधाई र शुभकामना दिइहाले । नभेट्नेले पनि फोटोसपमा मिलाए ।
कसैले भने – उनी मेरा आदर्श । कतिले गफ लाए – उनी मेरो सहयोद्धा । कतिले मेरो पूर्वजन्मको साथी भने कतिले पुनर्जन्मको सहपाठी ।
फेसबुक र ट्वीटरमा नेतासँगै बसेको फोटो राखेर बधाई नदिए समाजमा नपरिएला भन्ने पीर । ठाउँमा पुगेका आशलाग्दो मान्छेले के भन्लान् भन्ने डर । सँगै बसेको फोटो राखेर बधाई नदिंदासम्म उनले काम गर्न नसक्ने हुन् कि भन्ने चिन्ता । त्यसैले खिर खाँदा खाँदैका मान्छे पनि आशलाग्दा मान्छेसित नखिचाएको फोटोको पीरले छटपटाए ।
त्यसपछि खिरले भन्दा बढ्ता फोटोको पिरले पेट दुख्यो । फोटो राख्नेहरु राखिसकेर फेरि खिर खान थाले, खिर खान छाडेकालाई फोटोको पीरले कटक् कटक् पेट दुख्यो । फोटोमा बधाई र शुभकामनाभन्दा बढ्ता आशा छ । कसैकसैको त चाकडी छ । मुखमा अटाउने गाँस अनुसारको आश गर्नु त ठिकै हो । तर मुखभन्दा ठूलो आश गरेपछि गाँसको मात्रा पेटमा पुग्दा ह्रास हुन्छ । त्यसपछि कि त पेट फुल्छ, कि त झाडापखाला चल्छ । आशलाग्दो मान्छे शारीरिक बिरामी, बढी आश गर्नेहरु चाहिँ मानसिक बिरामी ।
मान्छे पो आशालाग्दो । तर मान्छेले पाइला चालेको बाटो त्यति आशलाग्दो छैन । पुगेको ठाउँ आशलाग्दो छैन । काम गर्ने कोठा आशालाग्दो छैन । आफ्नो कुर्सी वरपरका अरु धेरै कुर्सी आशालाग्दा छैनन् । काम गर्न जसको भर पर्नुपर्ने हो, उनीहरु आशालाग्दा छैनन् । गर्न नखोज्नेलाई उचाल्दिन्छन्, गर्न खोज्नेलाई अलमल्याइ दिन्छन् । जसरी भए पनि गर्न नदिने प्रपञ्च गर्छन्, गर्न खोज्नेलाई गिराउन र लडाउन अनेक दाउ गर्छन् ।
बस्ने कोठादेखि वरपरका कुर्सी र मान्छे निराशलाग्दा भएपछि आशालाग्दो एक्लो मान्छे पनि अलमलिन्छ । कामको मेसो नपाएर लर्बरिन्छ । उ आफैँ लर्बरिन थालेपछि सँगै रहेका अरु निराशलाग्दाले आशालाग्दोलाई फनफनी घुमाइ दिन्छन् । के के न गर्छु भनेर ठाउँमा पुगेको आशलाग्दोलाई निराशलाग्दाले फनफनी घुमाउन थालेपछि रिंगटा लाग्छ । रिंगटा लागेपछि पछारिन्छ । न उठ्न सकिन्छ, न दगुर्न ।
आशालाग्दो मान्छेसँग आश गर्नेहरुले आशा गरेको गर्यै । अनि निराश लाग्दाहरुले आश लाग्दोलाई घुमाएको घुमायै । निराशलाग्दो ठाउँ र निराशलाग्दा मान्छेसँग ठोक्किँदा ठोक्किँदै आशलाग्दो मान्छेको आश र साख हराउन थाल्छ । उनको आफ्नै आश र साख हराउन थालेपछि उनीसँग आश गर्नेहरु निराश हुन्छन् । अनि हिजोसम्म ताली पिट्नेहरु उतिखेरै गाली बर्साउन थाल्छन् ।
यसअघि मन्त्री भएका पूर्व आशावादीहरुले बुझेकै कुरा हो बालुवाटारदेखि सिंहदरबारसम्मका धेरै कुर्सीहरु गतिला छैनन् । कुर्सीमा नबस्दासम्म के के न गर्ला भनेर सोचेको मान्छे कुर्सीमा बसेपछि अलमलिन्छ । कतिलाई अरुले बरालिदिन्छन्, बिगारिदिन्छन् । कति चाहिँ आफैं बरालिन्छन्, बिग्रन्छन् । म बिग्रन्न, केही गर्छु भने पनि कसै न कसैले बराल्छ । घुम्ने कुर्सी झैं फनफनी घुमाइदिन्छ । कुर्सीमा नबस्दासम्म शीर ठाडो पारेर हिँड्ने मान्छे कुर्सी घुम्न थालेपछि घोसेमुन्टो लगाउँछ । कुर्सीमा नबस्दासम्म हिरो, कुर्सीमा बसेपछि जिरो भएका मान्छे कति छन् कति ।
आशलाग्दो मान्छेलाई हिरोबाट जिरो बनाउने काम तिनै आशावादीहरुले गरेका हुन् । फेसबुक र ट्वीटरमा फोटो टाँसेर बधाई दिनेहरुले नै आशलाग्दोलाई काम नलाग्दो बनाएका हुन् । चाहिनेभन्दा बढी आश गरेर उतिखेरै निराशामा आक्रोश पोख्नेहरुले नै आशलाग्दोको साख गिराएका हुन् ।
आश गर्नु, तर जति गर्नुपर्ने हो, त्यति पो आश गर्नु । मान्छे आशलाग्दो भए पनि मान्छेले काम गर्ने ठाउँ त्यति आशलाग्दो छैन भनेर पो बुझ्नु । अनि घुमाउने कुर्सीले बस्नेबित्तिकै फनफनी घुमाइदिन्छ भन्ने कुराको पो हेक्का राख्नु ।
त्यसैले आशलाग्दो मान्छेसँग बढी आशा गर्नेहरुसँग आग्रह गरौँ । अहिले चाहिनेभन्दा धेरै ताली र केही दिनमै मुखभरीको गाली दिन ठिक्क परेका आशेहरुलाई सम्झाऔँ । आशलाग्दो मान्छे पनि सचेत हौँ, गाँसभन्दा ठूलो आश गर्नेहरु पनि सतर्क हौँ । सँगै उभिएको फोटो राखौं, तर चाकडी र चाप्लुसीका शब्द भद्दा र मोटो नबनाउँ । केही गर्न सक्छन् भनेर बाटो हेरौँ, तर अब सबैथोक गर्ने भए भनेर बाटै नहेरी नकुदौँ । नचाहिने निराशा पोख्नुअघि चाहिनेभन्दा बढी आशै नगरौँ । आशलाग्दोलाई हिरोबाट जिरो हुनबाट जोगाउँ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।