जापानमा बाढी पहिराे : १०० भन्दा बढीको मृत्यु, प्रधानमन्त्रीको विदेश भ्रमण राेकियाे

 असार २६, २०७५ मंगलबार ९:५१:२१ | एजेन्सी
unn.prixa.net

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण १०० जना भन्दा बढीकाे ज्यान गएकाे जापानी अधिकारीले पुष्टि गरेका छन् । 

जापानमा अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । 

सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । 

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । 

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ । 

प्रधानमन्त्रीको भ्रमण स्थगित 

यसैबीच सोमबार टोकियोबाट प्राप्त एक समाचारमा जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण रोकेका छन् । 

बुधबारदेखि बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्टकाे भ्रमण गर्ने तयारी अाबेकाे थियाे ।



जापानमा बाढी र पहिरोको प्रकोप जारी नै रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले सो भ्रमण स्थगित गरिएको जानकारी दिएका छन् । 

प्रधानमन्त्री आबेले सोमबार पनि जापानी अधिकारीहरुलाई बाढी र पहिरोको प्रकोप न्युनिकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकाय र सबै उद्धारकर्मीहरुलाई आदेश दिएका छन् । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया