पाकिस्तानी प्रधानमन्त्रीले गरे बीजेपीलाई हिटलरकाे नाजी पार्टीसँग तुलना

विदेश मन्त्री भन्छन् : दक्षिण एसियाका १५० करोड मानिस खतरामा छन्

 साउन २१, २०७६ मंगलबार १८:५४:२६ | एजेन्सी
unn.prixa.net

भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० हटाउने निर्णय गरेको छ ।

प्रदेशका राज्यपालको सिफारिसमा राष्ट्रपतिको आदेशबाट धारा ३७० हटाउने निर्णय गरिएको हो । गृहमन्त्री अमित शाहले सोमबार राज्यसभामा यसबारेमा जानकारी दिँदै विधेयक प्रस्तुत गरेका थिए । अमित शाहले जम्मू–कश्मीर राज्यको पुनर्गठनका बारेमा पनि विधेयक प्रस्तुत गरे । अब जम्मू–कश्मीर दुई प्रदेशमा विभाजित हुने भएको छ ।

यसै प्रकरणमा भारतमा हलचल मच्चिरहँदा पाकिस्तानी संसदमा समेत यसले प्रवेश पाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान संसदलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शान्तिका लागि इच्छुक नभएको आरोप लगाएका छन् । संसदमा सम्बोधन गर्दै उनले भने, ‘सुरुदेखि नै मलाई लाग्या थियो कि नरेन्द्र मोदी शान्तिका लागि इच्छुक छैनन् । भारतमा चुनावका बेला उनको हरेक कदम वार हिस्टेरिया पैदा गरी चुनावी फाइदा उठाउने खालकै थिए ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू–कश्मीर गम्भीर विषय बनेको पनि बताएका छन् । उनले भने, ‘जम्मू–कश्मीर अब गम्भीर विषय बनेको छ । यस विषयमा बीजेपीको सरकार आफ्नै संविधानविरुद्ध गयो । आफ्नै सर्वोच्च अदालत, जम्मू–कश्मीर उच्च अदालतको फैसला, संयुक्त राष्ट्र संघको प्रावधान तथा शिमला सम्झौताविरुद्धको कदम हो यो । उनीहरुले आफ्नो विचारधाराका लागि सबै नियम उल्लंघन गरे ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरि एक पटक भारतमा पुलवामा जस्तै आक्रमण हुन सक्ने पनि बताए । उनले भने, ‘अब भारतमा पुलवामा जस्तै आक्रमण हुन सक्छ । मलाई लाग्छ कि यसको दोष पाकिस्तानलाई दिइनेछ । जब कि यो कश्मीरी नागरिकलाई दबाएको नतिजा हो । अब डर यो छ कि उनीहरु ठूलो परिमाणमा मुसलमानहरुको नरसंहार गर्दैछन् ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत–पाकिस्तान युद्धको सम्भावनाबारे भने, ‘यदि त्यहाँको अवस्था बिग्रियो भने हामीविरुद्ध युद्धको घोषणा हुन सक्नेछ । त्यस्तो अवस्थामा पाकिस्तानसँग दुइटा बाटा हुनेछन् ।  एउटा बहादुर शाह जफरको बाटो, अर्को टीपू सुल्तानको बाटो ।  पहिलो हात माथि उठाउने । दोस्रो यदि यस्तो भैहालेमा टीपू सुल्तानझै रगतको अन्तिम थोपा रहेसम्म लड्ने ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ पार्टी बीजेपीलाई हिटलरको नाजी पार्टीसँग तुलना गरेका छन् । उनी भन्छन्, ‘यदि यस्तो नाजुक अवस्थामा बाँकी विश्वले हस्तक्षेप नगर्ने हो भने धेरै ढिलो हुनेछ । मैले परमाणु युद्धको धम्की दिइरहेको छैन । मैले समझदारीपूर्वक भन्दैछु कि यस्तो अवस्थाले पुरै मानव समाजलाई नै खतरामा पार्न सक्दछ । बीजेपीको कामकारबाही नाजी पार्टीको भन्दा फरक छैन ।’

भारतीय संविधानको धारा ३७० मार्फत जम्मू–कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाउने कामले त्यहाँको शान्ति खलबल हुने बताउँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो मुद्दालाई आफूहरुले अन्तर्राष्ट्रिय मञ्चमा जोडतोडले उठाउने बताए । 

यसैबीच पाकिस्तानी विदेश मन्त्री शाह महम्मूद कुरैशीले भारतको पछिल्लो कदमले दक्षिण एसियाका १५० करोड नागरिक खतरामा रहेको बताएका छन् । 

साउदी अरेबियाको जेद्दाहमा पाकिस्तानले इस्लामी सहयोग संगठन(ओआईसी) को बैठक बोलाएको थियो । मुस्लिम देशको संगठनको बैठकपछि पाकिस्तानी विदेश मन्त्री कुरैशीले भने, ‘ओआईसी यो मान्छ कि भारतको आक्रामक व्यवहारबाट दक्षिण एसियाका १५० करोड नागरिक खतरामा छन् । पाकिस्तान जम्मू–कश्मीर विवादको शान्तिपूर्ण समाधान चाहन्छ । तर भारतको कदमका कारण मलाई शान्तिको कुनै आशा छैन ।’

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया