ईदमा कश्मीरमा सुरक्षा व्यवस्था झन् कडा, ठूला मस्जिद बन्द

 साउन २७, २०७६ सोमबार १४:१३:४३ | रासस
unn.prixa.net

 ईद पर्वको पूर्व सन्ध्यादेखि नै कश्मीरका सबैजसो मस्जिदहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् ।

हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ । स–साना मस्जिदहरु मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भिडभाड नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।   

गएको दुई दिनयता यहाँ कर्फ्यू खुकुलो पारिएको बताइएको थियो । तर यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।

जम्मू-कश्मीरलाई नियन्त्रण लगाई केन्द्र सरकारको मातहतमा राख्ने कदमको विरोध भएका कारण कश्मीरमा आठ दिनदेखि सुरक्षा व्यवस्था कडा गरिएको समाचारमा जनाइएको छ ।  

मुसलमानको बाहुल्य भएको जम्मू-कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा रहेका र फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ । 

गएकाे बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरका नागरिकलाई इद  पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए । जम्मू कश्मीरलाई विशेष महत्व दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि कश्मीरमा विरोध हुँदै आएको छ । भारत सरकारको यो कदमपछि विश्वको आँखा भारत प्रशासित कश्मीरको पछिल्लाे अवस्थाप्रति केन्द्रित रहेको छ ।

मुसलमान समूदायको ठूलो पर्व ईदको लागि भारतको नियन्त्रणमा रहेको कश्मीर प्रशासनले आइतबार कतिपय इलाकामा कर्फ्यु खुकुलो पारेको थियो । 

कर्फ्यु खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको सोमबारको ईदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए । त्यस प्रयोजनका लागि सवारी साधन पनि केही खुकुलो पारिएको थियो । 

आइतबार दिउँसोको १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको कश्मीरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो । आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो । 

तर १२ बजेपछि अचानक सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो । त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधनहरु पनि प्राय बन्द छन् । 

निरन्तरको कर्फ्यु र सञ्चारको अभावमा त्यहाँको अवस्था के कस्तो छ भन्ने बारेमा केही सूचना प्राप्त हुन नसकेको स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया