हिमपातले मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड र पहिरोले महाक...
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल–काठमाण्डौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालन गर्नका लागि सम्झौता गरेको छ ।
प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाइ ग्रामीण, दूरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
यस पहलअन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवाप्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको सञ्चालन गर्न आवश्यक पर्ने अन्य स्थानीय आपूर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ ।
धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदातालगायत कार्यक्रम सञ्चालनका लागि आवश्यकअन्य सहयोगहरु प्रदान हुनेछ । हस्पिटलले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक तालिम र अनुगमनलगायतका कामहरु पनि गर्नेछ ।
साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाण्डौ युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ । यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार एक कार्यक्रमका बीच टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सहकार्यबाट उत्साहित धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले भन्नुभयो, ‘हाम्रो भिजन भनेको नेपालमा नै यस्तो प्रकारको पहिलो हेल्थ इन्फर्मेटिक्स् सेन्टरको विकास गर्नु हो, जहाँ सिक्दै नवीन खोज गर्दै तथ्याङ्कमा आधारित विधि अपनाइ बहुआयामिक दृष्टिकोणबाट स्वास्थ्य क्षेत्रको विकास गर्न सकियोस् । नेपालको स्वास्थ्य क्षेत्रका बारेमा एनसेलको दूरदर्शी दृष्टिकोणप्रति म कृतज्ञ छु ।’
कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भन्नुभयो, ‘यो कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्वको फ्रेमवर्क र संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरुमध्येको एकभित्र पर्दछ । धुलिखेल हस्पिटलले सञ्चालन गरिरहेको सामुदायिक स्वास्थ्य केन्द्रहरुको क्षमतामा अभिवृद्धि गर्दै डिजिटल प्रविधिको प्रयोगमार्फत विषेशतः ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेका जनसमुदायहरुलाई यस सहकार्यले ठूलो योगदान गर्ने हामीले आशा लिएका छौँ ।’
धुलिखेल हस्पिटलका संस्थापक तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजु श्रेष्ठले यस सहकार्यका बारेमाआफ्नो विचार राख्दै भन्नुभयो, ‘आउँदा दिनहरुमा देशमा नै हेल्थ इन्फर्मेटिक्स् क्षेत्रमा अनुसन्धान र तालिमहरु प्रदान गर्न यो एक प्लेटफर्म पनि हुनेछ ।’
यो कार्यक्रम टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई सञ्चालन हुनेछ । टेलिमेडिसिनअन्तर्गत कार्यक्रमले धुलिखेल हस्पिटलद्वारा सञ्चालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा हस्पिटलका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराइ स्थानीय नागरिकलाई दुई वर्षका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
कार्यक्रम सञ्चालनका लागि हाल सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थानसिङ र काभ्रेपलाञ्चोको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु छानिएका छन् ।
यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधुरीका नागरिकलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायतका रोगहरुको उपचार सेवा पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।