देशका विभिन्न ठाउँमा साहित्यिक उत्सव

 फागुन १६, २०८१ शुक्रबार ९:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका विभिन्न ठाउँमा साहित्यिक उत्सव भइरहेका छन् । यी उत्सवहरुमा कला, साहित्यसँगै समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल हुने गरेका छन् ।

पोखरामा हिजोदेखि १२ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल शुरू भएको छ । पोखराको बाराहीघाट,लेकसाइडमा भइरहेको फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट रहेको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

यस्तै धादिङको सदरमुकाम धादिङबेसीमा बागमती महोत्सव शुरू भएको छ । आज र भोलि हुने महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

यसैगरी पहिलो संस्करणको ‘काठमाण्डौ उत्सव’ काठमाण्डौमा शुरू भएको छ । भोलिसम्म नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने उत्सवमा साहित्यसँगै काठमाण्डौ संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिने काठमाण्डौ उत्सवका अध्यक्ष प्रकाश समीरले बताउनुभयो ।

झापाको मेचीनगरमा अस्ति १४ गतेदेखि शुरू भएको ‘कला साहित्य उत्सव आज सकिँदैछ । यस वर्षको उत्सव ‘पर्यावरण विमर्श’ विषयमा केन्द्रित छ ।

रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सहकार्यमा पूर्वकै ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना भएको हो ।

बर्दियाको राजापुरमा हिजोदेखि शुरू भएको ९औं थारु साहित्य सम्मेलन भोलिसम्म चल्नेछ । थारु लेखक सङ्घ नेपाल र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

यस्तै विश्वको ५ औं अग्लो हिमाल मकालु आरोहणको ७०औं वर्षगाँठको अवसरमा सङ्खुवासभाको मकालु गाउँपालिकामा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव भइरहेको छ ।

अस्ति १४ गतेदेखि नुम बजारमा शुरू भएको महोत्सव भोलिसम्म चल्नेछ । मकालु गाउँपालिकाको आयोजना र मकालु साहित्यिक समाजको संयोजनमा भइरहेको महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र भुटानका स्रष्टाहरुको सहभागिता छ ।

आउँदो २४ गतेदेखि २६ गतेसम्म टीकापुर साहित्य महोत्सव हुँदैछ ।  यसअघि माघ अन्तिम हप्ता जनकपुरमा ‘धरातल, संस्कृति र संस्कारको उत्सव’विषयमा जनकपुर साहित्य महोत्सवको ६औं संस्करण भएको थियो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया