सैलुङ मेला सम्पन्न: १० हजारभन्दा बढीले गरे अवलोकन

 साउन २९, २०७६ बुधबार १९:१९:५८ | उषा तामाङ
unn.prixa.net

दाेलखा - जनै पूर्णिमाको अवसरमा दोलखाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल सैलुङमा लाग्ने मेला झण्डै १० हजार भक्तजनले भरेका छन् ।

सैलुङ गाउँपालिका वडा नम्बर-८, सैलुङको सय थुम्कामा जनै पूर्णिमाको २ दिन अघि अर्थात गएकाे साेमबारदेखि बुधबारसम्म लागेको मेला भर्न करिव १० हजार तिर्थालु पुगेका हुन् ।

सैैलुङको मेलामा धामी झाँक्री गुफा बस्ने, मृतकको सम्झनामा बत्ती बाल्ने तथा पूजा अर्चना गर्ने गरिन्छ । झण्डै ७ सय वर्ष अघिदेखि सैैलुङमा मेला लाग्ने गरेको विश्वास रहँदै आएकाे छ । यस वर्षको मेला शान्तिपूर्ण ढंगले सम्पन्न भएको सैैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । 

सैलुङ मेलाका क्रममा भएका फोहोर व्यवस्थापनसँगै चिया नास्ताकाे व्यवस्था स्थानीय खाँडादेवी युवा क्लबले गरेको थियो । सडकको अवस्था नाजुक भएपछि दोलखासहित रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश भक्तजनहरु हिँडेर र ट्रकमा चढेर सैैलुङ पुगेका थिए । 

 

तस्बिरहरु: सामाजिक सञ्जालहरुबाट

अन्तिम अपडेट: बैशाख १३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया