दोलखामा भैरव कुमारी जात्रा सुरु

 साउन ३२, २०७६ शनिबार २०:४:१० | उषा तामाङ
unn.prixa.net

दोलखा - दोलखामा मात्र मनाइने भैरव कुमारी पर्व शनिबारदेखि सुरु भएको छ । 

गाईजात्राको भोलिपल्टदेखि पाँच रात लगातार दोलखा बजारको मन्दिर र टोलहरूमा देखाइने भैरव कुमारी जात्रा भदौ ४ गते राति समापन हुनेछ । 
टँसिचा टोलमा रहेकाे कुमारी घरबाट भैरव, कुमारीकी आमा (नकिन), घोडचढी र जाल हान्नेसहित १३ जनाको समूह आकर्षक शैलीमा नाच्दै देखाइने जात्रा शनिबार साँझबाट सुरु भएको हो ।

पर्वका अवसरमा मनको इच्छा पूरा हुने विश्वासका साथ दोलखाका इच्छुक नारीहरू व्रत बस्ने गर्छन् । बिहानदेखि भोको बसेर साँझ जात्रा निकाले पूजापाठ गरेपछि उनीहरूले खाना खाने स्थानीयवासी हर्क बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पाँच सय वर्ष पुरानो भैरव कुमारी जात्रामा देशका विभिन्न भागबाट मनको इच्छा पूरा हुने विश्वासले श्रद्धालुहरु आउने गर्छन् । दर्शन गर्न, पूजापाठ गर्न र चढाइएका अविर, अक्षता र फूलहरू संकलन गरी लान रातभर रमाइलो गर्दै सहभागीहरू नाच्नेहरूको अघिपछि हिँड्छन् । जात्रा अवधिको ५ रात दोलखा बजारवासी जागै बस्छन् भने होटल र पसल खुला हुन्छन् ।

द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरूलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको जनविश्वास छ । तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुअघि व्रत बस्ने महिलाहरू दिनभर नखाइ टँसिचाटोलको गुठीघरमा भेला हुन्छन् भने व्रत बस्नका लागि बिहे भएर गएका चेलीबेटी माइती र्फकन्छन् ।

तस्बीर: स्थानीयवासी शिवजी प्रधानको फेसबुकबाट

अन्तिम अपडेट: चैत ११, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया