आमाश्री पुरस्कार’ साहित्यकार मानन्धरलाई

 भदौ १, २०७६ आइतबार ७:३:१६ | रासस
unn.prixa.net

काठमाण्डाै – यस वर्षको ‘आमाश्री (मिश्रीमैया विष्ट र ईश्वरी कार्की) पुरस्कार’ साहित्यकार सुलोचना मानन्धरलाई प्रदान गरिएको छ ।

तरेली साहित्यिक प्रतिष्ठानले प्रदान गर्ने सो पुरस्कार यहाँ आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रदान गर्नुभयो । त्यसैगरी यो वर्षको ‘मसी (मधुकर कार्की र शिवहरि विष्ट) सिर्जना पुरस्कार’ साहित्यकार बालचन्द्र श्रेष्ठ प्रवाहलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको छ । तरेली सम्मान २०७६ बाट शिक्षाविज्ञ बुद्धि कार्की सम्मानित हुनु भएको छ । 

त्यसैगरी मन्त्री भट्टराईले साहित्यकार विज्ञाता कार्कीद्वारा लिखित ‘आँचलको आँगन’ नामक निबन्ध सङ्ग्रहको विमोचन गर्नुभयो । सङ्ग्रहमा जन्म, मृत्युलगायत मानिसको जीवनसँग सम्बन्धित १८ निबन्ध समावेश गरिएको छ ।

यही अवसरमा मन्त्री भट्टराईले सरकारले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्ने योजना बनाएको बताउँदै आगामी वर्षहरुमा प्रोत्साहनस्वरुप युवा लेखकको नाममा मन्त्रालयले युवा लेखन पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया