विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौँको सहभागिता (फोटो फिचर)

 भदौ ७, २०७६ शनिबार २०:२६:३६ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराटनगरमा हरेक वर्ष झैँ कृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ । ५२ वर्षदेखि लगातार निकालिँदै आएको रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ। 

रथयात्रा  आयोजक समितिका संयोजक बाबुराजा ओझाले रथयात्रामा लाखौँको सहभागिता रहेको बताउनुभयाे । विभिन्न धार्मिक तथा जातीय झाँकीसहित राधाकृष्ण मन्दिर तिनपैनीबाट दिउँसो ३ बजेपछि निस्किएको रथयात्रा साँझ तीनपैनीमा रहेकाे राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भयाे।

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय भएको आयोजक समितिका संयोजक बाबुराज ओझाले जानकारी दिनुभयाे ।

भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४० ठाउँमा विश्राम दिने व्यवस्था मिलाइएको थियो । रथयात्रामा हेलिकप्टरबाट पुष्पवर्षा गरिएको थियाे ।

रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, सम्प्रदाय, धर्म संस्कृति झल्कने झाँकी, भजन मण्डली र प्रदेश १ प्रहरीको सांगीतिक ब्यान्ड रहेको थियो ।  रथयात्रा मार्गमा विभिन्न लोक नृत्यसमेत प्रस्तुत भए । 

प्रदेश १ का प्रमुख डा गोविन्द तुम्बाहाङ, मु्ख्यमन्त्री शेरधन राई, संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले रथयात्राको शुभारम्भ गर्नुभएकाे  थियाे । विभिन्न जात, भाषा, धर्म र सम्प्रदायको साझा फूलबारीका रुपमा प्रदेश १ लाई चिनाउनको विराटनगरको रथयात्राको छुट्टै महत्व रहेको छ ।

५२ वर्षअघि खटमा राखेर राधाकृष्णको प्रतिमा नगर परिक्रमा गराएर सुरु गरिएको र पछि ठूलो जनसहभागिताका साथ रथयात्राको परम्परा बसेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए। रथयात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत भक्तजनको घुइँचो लागेको थियो। सुनसरी र मोरङका विभिन्न भागबाट भक्तजन तथा झाँकी समूहको उपस्थिति थियो ।

तीनपैनीबाट सुरु हुने रथयात्रा प्रदेश १ को राजधानी विराटनगरको मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, शनिमन्दिर, बरगाछी चोक हुँदै फेरि तीनपैनीमा रहेकाे राधाकृष्ण मन्दिरमा पुगेर समापन हुने गर्दछ । रथ तान्दा दुःख नाशिएर सुख मिल्ने जनविश्वास छ।

यस्तो छ रथ

सुनौलो रंगको प्यागोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ बनाइएको छ । रथको अग्रभागको दायाँ र बायाँ गरी दुवैपट्टि ७५ फिट लामो रथ तान्ने लठ्ठा निर्माण गरिएको छ । रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।

रथयात्राको इतिहास

१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ ।

मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा सुरु गरेका जानकारहरुकाे भनाइ छ ।

धर्म-संस्कृति पुरस्कार

रथयात्रा महोत्सवको अवसरमा १ लाख १ हजार राशिको पोखरमल धर्मसंस्कृति पुरस्कार विराटनगरको पाञ्चालीमा रहेकाे लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्यलाई प्रदान गरिएको छ ।याे पुरस्कार रथयात्राको अवसरमा १३ वर्षदेखि निरन्तर प्रदान हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया