युद्धविराम सम्झौता लागू भएपछि दक्षिणी लेबनानका बासिन्दा घर फर्...
मंसिर १२, २०८१ बुधबार
चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ ।
सडकको भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो । समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ ।
कोइरालाले भन्नुभयो, “सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माण गर्नुकोे विकल्प छैन ।” उहाँका अनुसार ११ मिटर फराकिलो सडकमध्ये आठ मिटर भासिएको छ । भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उहाँले बताउनुभयो । कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै अरु भासिदै गएमा तत्काल भित्तो काट्ने र रोकिएमा भासिएको सडकलाई मर्मत सम्भार गर्न सकिने या नसकिने विषयमा छलफल गरिने जानकारी दिनुभयो ।
काठमाडौँ फर्किएपछि यसअघि त्यो ठाउँमा रक स्वायल एङ्करिन गरेका विज्ञ समूहसँग पनि छलफल गर्ने उहाँले बताउनुभयो । मंगलबार बिहानदेखि भासिन शुरु गरेको सडकमा भासिने क्रम निरन्तर बढिरहेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले विज्ञहरुको प्रतिवेदनको पर्खाइमा रहेको बताउनुभयो । भासिने क्रम जारी रहेकाले भित्तो काट्नुको विकल्प भने नदेखिएको उहाँले बताउनुभयो ।
सडक भासिने क्रम बढ्दै गएपछि मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । त्यो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो । त्यो ठाउँमा नौ मिटर कालोपत्र गरिएको छ । कालोपत्रको नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ ।
त्यही ठाउँमा २०६० सालमा रक स्वायल एङ्करिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताउनुभयो । भित्तोमा ड्रिल गरी १०÷१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ । सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा त्रिशूली नदीले बाटोमुनिको भागमा खोलेर भासिएको हुन सक्ने अनुमान गरिएको छ । हाल त्यो सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । त्यही सडक हुँदै दैनिक १० हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।