गएकाे वर्षको आर्थिक समीक्षा: आर्थिक वृद्धिदर ७ प्रतिशत माथि, रेमिट्यान्स बढेर झण्डै ९ खर्ब पुग्यो

 भदौ १५, २०७६ आइतबार १८:२६:३८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्रबैंकले गएको आर्थिक वर्ष २०७५-७६ को आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत रहेको अनुमान छ । यस्तै  रेमिट्यान्सको आयात बढेपनि व्यापार घाटा भयावह देखिन्छ भने शोधानान्तर घाटा पनि चुलिएको छ । यस्तै मुल्यवृद्धि पनि जम्मा ४ दशमलव ६ प्रतिशत रहेको छ  । 

व्यापार घाटा १३ खर्ब माथि

आर्थिक वर्ष २०७५-७६ मा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर १४ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने देशका आधारमा भारतबाट भएको आयात १२.८ प्रतिशत, चीनबाट भएको आयात २८.५ प्रतिशत र अन्य देशबाट भएको आयात ८.९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान,अन्य मेसिनरी पार्टपुर्जा, एम.एस. बिलेट लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लाष्टिक दानालगायतका वस्तुहरुको आयात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०७५-७६ मा खुद सेवा आय १६ अर्ब ५२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय २ अर्ब २७ करोडले बचतमा रहेको थियो । आर्थिक वर्ष २०७५-७६ मा सेवा खाता अन्तर्गत भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भएर ७३ अर्ब ५७ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आय ६७ अर्ब ९ करोड रहेको थियो । आर्थिक वर्ष २०७५-७६ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय १२.५ प्रतिशतले बढेर ८९ अर्ब ५८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ४६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ७९ अर्ब ६० करोड रहेको थियो ।

रेमिट्यान्स बढ्यो, पहिलोपटक श्रम स्विकृती लिएर विदेश जाने घटे

आर्थिक वर्ष २०७५-७६ मा रेमिट्यान्सको आयात १६.५ प्रतिशतले बढेर ८ खर्ब ७९ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यमान्स आय ८.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भने रेमिट्यान्स ७.८ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गएको बर्ष ३२.६ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०७४-७५ मा यस्तो संख्या ९.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत बर्ष ५.४ प्रतिशतले बढेको छ । 

चालु खाता घाटामा, विदेशी विनिमय सञ्चिती पनि घट्यो

आर्थिक वर्ष २०७५-७६ मा चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो । आर्थिक वर्ष २०७५-७६ मा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको छ । आर्थिक वर्ष २०७५-७६ मा खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रुपैँया रहेको थियो । 

यस्तै कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया