जिल्ला अस्पताल बझाङको अवस्था फेरिँदै

 भदौ १७, २०७६ मंगलबार ११:३९:३४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – अस्पतालको सेवाप्रति सधैँ जनगुनासो आउने बझाङको जिल्ला अस्पताल अहिले भने फेरिएको छ ।  अस्पतालमा नियमित डाक्टर बस्ने र अन्य उपचार सेवा पनि राम्रो हुन थालेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गइरहेको छ । 

वर्षौँदेखि विशेषज्ञ डाक्टरहरुको अभावमा समस्याग्रस्त अस्पतालमा अहिले नियमित डाक्टरहरु भेटिन थालेका छन् । अस्पतालमा सरकारी दरबन्दीका तीन जना डक्टर र निक्साइन संस्थाबाट तीन जना विशेषज्ञ डाक्टर र प्रदेश सरकारबाट एक जना गरी ७ जना डाक्टर नियमित उपस्थित हुने गरेका छन् ।

केही समय अघि जिल्ला अस्पतालमा बिरामी भएर जाँदा सेवा नपाएकी सुर्मा गाउँपालिकाकी बसन्तदेवी बोहोराले भन्नुभयो ‘डाक्टरहरु नहुँदा पहिला त उपचार नै हुँदैनथ्यो । बल्ल बल्ल लामो समय कुरेर मात्र बिरामी जाँच हुन्थ्यो । कति धेरै समस्या थियो, तर अहिले यस्तो छैन ।’ जिल्ला अस्पतालको परिसरमा छोराको उपचार गराउन पुगेकी बोहोरा भन्नुहुन्छ ‘आधा घण्टामा नै जाँच गराएर घर पर्कन लागेको छु ।’

यस्तै, खप्तड छान्ना गाउँपालिकाकी रामदेवी रोकायाले केही समय अगाडी नै जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा र औषधि पनि नपाउँदा अन्यत्र गएर उपचार गराउन परेको थियो । विगतका दिनलाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ ‘भिडमा लाइन बसेर पनि उपचार नहुँदा कति धेरै समस्या हुन्थ्यो । औषधि नै नपाएपछि निजी अस्पतालमा महंगो मूल्यमा औषधि किन्नुपथ्र्यो । तर अहिले यो समस्या हटेको छ । हामी निकै खुशी छौँ ।’

डाक्टरको नियमित उपस्थिति र सहज सुविधा पाउँदा सेवाग्राहीहरु अहिले निकै खुशी हुने गरेको अस्पतालका डाक्टर सन्दीप ओखेडाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अस्पतालमा ब्लड बैड्कको मात्र अभाव छ ।’ 

अस्पतालको फोहर व्यवस्थापन, विद्युत व्यवस्थापन, जनशक्ति व्यवस्थापन, बालबालिकाहरुका लागि आईसीयू व्यवस्थापन लगायतका काम भएका छन् । अस्पतालमा बिरामीहरुका लागि शुद्ध खानेपानी, बिरामीहरुका लागि चौताराहरु, प्रतिक्षालयकोसमेत व्यवस्था गरिएको छ । 

शल्यक्रियाकोसमेत चौबिसै घण्टा सुविधा हुने भएपछि जिल्लाबासीका लागि उपचारमा धेरै सहज भएको छ । नियमित डाक्टरहरुको उपस्थितिसँगै बिरामीहरुको चाप बढ्न थालेपछि अस्पतालमा अर्को भवन पनि निर्माण सुरु गरिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया