वैदेशिक रोजगारीमा जानेको बैंक खाता अनिवार्य, खाता खोलेर जाँदाका तीन फाइदा !

 भदौ १७, २०७६ मंगलबार १३:४:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? यदी जाँदै हुनहुन्छु भने अनिवार्य रुपमा बैंक खाता खोल्नुहोस् । सोमबारदेखि विदेश जाने कामदारको बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था लागू भएको हो ।

रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य सरकारी सहायताको आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको वैदेशिक रोजगार महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो । 

आफ्नो खाता नहुनेले आफ्नो आफन्तको बैंक खाताको विवरणसमेत राख्न सकिने विभागले जनाएको छ । विदेश जान लागेकाहरुले राष्ट्र बैंकबाट इजाजत प्राप्त देशभरीका वाणिज्य बैंक र विकास बैंकमा आफ्नो खाता खोल्न सक्ने विभागका महानिर्देशक भीष्म कुमार भूसालले जानकारी दिनुभयो । 

आफ्नो खाता नहुने कामदारले केहीदिन  आफ्नो नजिकको हकवालाको बैंकखाता पेश गर्न सक्ने भए पनि केही समयपछि विदेश जाने कामदारकै खाता अनिवार्य गरिने पनि उहाँले बताउनुभयो । 

वैदेशिक रोजगारीमा जान लागेका कामदारले अन्तिम श्रम स्वीकृती लिनका लागि अनिवार्य रूपमा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा बैंक खाता नम्बरसहित प्रमाणीत कपि नै अपलोड गरेर दर्ता गर्नुपर्ने छ । 

बैंक खाता अनिवार्य गर्नुका तीन कारण

कामदारका तीन फाइदाको पक्षलाई ध्यानमा राखेर बैंक खाता अनिवार्य गरिएको महानिर्देशक भूसालले बताउनुभयो । 

विदेश जाने कामदारको बैंक खाता हुँदा म्यानपावर व्यवसायीलाई तिर्ने शुल्कसमेत बैंक खाताबाट तिर्ने नियम लागू गरिने हुँदा ठगीमा परिहाले प्रमाणको अभावले न्याय पाउने समस्या हट्नेछ ।

‘विस्तारै व्यवसायीलाई तिर्नुपर्ने सेवा शुल्क समेत बैंक खाताबाट तिर्ने गरी नियम लागू गरिन्छ, यो नियम भएपछि अहिले प्रमाणको अभावमा न्याय नपाउने समस्याको अन्त्य हुनेछ,’ महानिर्देशक भूसालले भन्नुभयो । 

साथै, बैंक खाता अनिवार्य गरिएपछि विदेशमा रहेका नेपाली कामदारलाई सस्तोमा रेमिट्यान्स पठाउने व्यवस्था मिलाउन रेमिट्यास सेवा प्रदायकसँग बसेर छलफल गरिने पनि महानिर्देशक भूसालले बताउनुभयो । 

तेस्रो फाईदा भनेको विदेशमा कामदारलाई केही भए वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायतासमेत कामदार वा आफन्तको बैंक खातामा जम्मा गर्न सकिन्छ । 

अहिले वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली कामदारको बैंक खाता नुहँदा अवैधानिक तबरबाट रेमिट्यान्स भित्रिइरहेको छ । सबै कामदारको बैंकखाता हुने हो भने कामदारले आफूले कमाएको रमकसमेत आफ्नो वा आफन्तको खातामा पठाउन पर्ने छ । रेमिट्यान्स बैधानिक तबरबाट भित्रने छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया