रतुवा मारेको आरोपमा ७ जना पक्राउ

 भदौ २७, २०७६ शुक्रबार २०:३४:५८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – संरक्षित वन्यजन्तु रतुवा मारेको आरोपमा सल्यानमा सात जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

कुमाख गाउँपालिका–३, इग्रेखोलामा रतुवा मारेर खान तयारी गरेको अवस्थामा मृत रतुवासहित ७ जनालाई पक्राउ गरेको जिल्ला वन कार्यालय सल्यानका निमित्त प्रमुख तथा सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कुमाख गाउँपालिका–३ का ५२ वर्षीय गणेश केसी,४९ वर्षीय शिवकुमार शाही, ४९ वर्षीय कुशे रावत, ४० वर्षीय लिलाधर केसी, २६ वर्षीय तेजबहादुर केसी, ३० वर्षीय देवस्थल केसी र ७५ वर्षीय सोबे बुढा रहेका छन् । आरोपित सबैलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

घटनामा संलग्न भएको प्रमाणित भएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६को उपदफा ४ अन्तर्गत चोरी शिकारीअन्तर्गत ६ महिना कैद वा २० हजार जरिबाना अथवा दुवै सजाय हुन सक्ने सूचना अधिकारी लम्सालले जानकारी दिनुभयो ।

बिहीबार रतुवा खानका लागि घाँटी छिनालेर मारेको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेर आरोपितलाई रंगेहात पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया