देशका धेरै नदीमा बाढीको सम्भावना, सावधानी अपनाउन आग्रह

 भदौ ३१, २०७६ मंगलबार १२:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार विभिन्न नदीमा बाढी आउने सम्भावना भएकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विभिन्न ठाउँमा पानी परिरहेकाले भोलिसम्म नै बाढीको जोखिम रहेको भन्दै महाशाखाले नदी आसपासका बासिन्दालाई भोलिसम्म नै सतर्क हुन अनुरोध गरेको हो । महाशाखाका अनुसार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैयालगायतका नदीमा बाढीको जोखिम छ ।

यस्तै मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवास्तु, दाङ भएर बहने नदी आसपासका बासिन्दालाई भोलिसम्म नै उच्च सतर्क हुन महाशाखाका बाढीविज्ञ सुनिल पोख्रेलले आग्रह गर्नुभयो । उहाँका अनुसार मंगलबार नवलपरासीको डण्डा, कावासोती र आसपासको गिरिउवारीलगायत अरु साना नदी तटीय क्षेत्रमा पानीको वहाव खतरा तह आसपास पुग्ने सम्भावना छ ।

यस्तै, कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पानीको सतह खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन उहाँको सुझाव छ ।

यसैगरी, चितवनमा रिउखोलामा ठूलो बाढी आउने संभावना रहेको भन्दै उहाँले आसपासका बासिन्दालाई बेलुकीसम्म नै सतर्कता अपनाउन सुझाव दिनुभएको छ । बुधबार पनि पानी पर्ने भएकाले नदी आसपासका बासिन्दा तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया