कविता : हाम्रो संविधान

 असोज ३, २०७६ शुक्रबार १०:२४:५५ | अर्चना आचार्य
unn.prixa.net

 

छत्तीस वर्णका फूलहरु,

भनिन्थ्यो एउटै मालाका ।

रंग फरक,

सुगन्ध फरक ।

मन्दिर एउटै,

भगवान एउटै,

तर कुनै फूल शिरमा चढ्थ्यो,

कुनै मूल ढोका बाहिर टक्क रोकिनुपर्थ्यो।।

 

लेख्नु थियो एउटा नयाँ विधान,

समानताको,

जहाँ हरेक फूल देवताको शिरमा चढोस्,

र बलिदानले कोर्‍यो

एउटा समानताको संविधान ।।

 

इतिहासदेखि नै,

देशको छातीमा एउटा पर्खाल थियो,

र पर्खालभित्र एउटा दरबार ।

जहाँ इन्द्रासनमा इन्द्रकमल मात्र फुल्थ्यो,

फुल्दैनथ्यो गाउँमा फुल्ने चिलाउनेका फूल ।

 

जनताले फोरेर पर्खाल,

मेटाए चिलाउने र इन्द्रकमलबीचको भेद,

दरबार गाउँसम्म ओर्लियो,

र गाउँ दरबारको इन्द्रासनसम्म पुग्यो,

जब लेख्यौ एउटा यस्तो संविधान ।

 

समावेशी सपना साकार पार्ने,

एउटा उद्घोष ।

सबै जात, धर्म, वर्ग, लिङ्ग, भाषा,

सबै समान, सबै विशेष,

सबै मिलेर एउटा सिङ्गो देश ।

जब लेख्यौँ एउटा यस्तो संविधान ।।

 

लेख्यौँ एउटा यस्तो संविधान,

आ-आफ्ना कर्तव्य र अधिकार,

आँगन आँगनको सरकार,

स्थानीय, संघ र प्रदेश,

तर एउटा सिंगो देश ।

समेटेर हिमाल, पहाड, तराईको पहिचान,

लेख्यौँ एउटा यस्तो संविधान ।

 

सारा नेपाली उर्लिएर

रगतले लेखेको ।

संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष,

गणतन्त्रात्मक समावेशी समाजवाद उन्मुख

यी शब्दहरु शब्द मात्र होइनन् ।

यी संघर्षका इतिहास हुन्,

वर्तमान टेक्ने धर्ती हुन्,

र सुखी भविष्यका सपना हुन् ।।

 

यो वीर शहीदका रगतले लेखेको

नेपालको संविधान ।

यो हामीमै सर्वाधिकार

हामीमै सार्वभौमसत्ता निहीत

हाम्रा हातहरुले प्रमाणित

हाम्रो संविधान ।।

अन्तिम अपडेट: मंसिर १९, २०७६

1 Comments

  • विजय नेपाल

    Sept. 22, 2019, 4:59 p.m.

    #गज्जब

  •  0 Reply

तपाईको प्रतिक्रिया