स्क्रब टाइफसबाट बझाङमा २ जनाको मृत्यु , डेंगीकाे संक्रमण पनि फैलँदै

 असोज ४, २०७६ शनिबार १९:१४:१७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - स्क्रब टाइफसका कारण बझाङमा एक महिला र एक पुरुष गरी दुई जनाको मृत्यु भएको छ भने अन्य १ सय ४४ जना प्रभावित भएका छन् ।

स्क्रब टाइफसबाट मृत्यु हुनेमा कैलाली जिल्ला गेटा बस्दै आएका बझाङ देउरा घर भएका १५ वर्षीय भरत खाती र वित्थडचिर गाँउपालीकाकी २३ वर्षीया सरस्वती सिंह रहेको सुदूरपश्चिम प्रदेश निर्देशनालय डोटीका जनस्वास्थ्य ओमप्रकाश जोशीले बताउनु भयो । दुवै जनाको कैलालीमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशको अछाम र बाजुरा जिल्ला बाहेक अरु ७ वटा जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको उहाँको भनाइ छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एक सय ४४ जना स्क्रब टाइफसबाट प्रभावित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी डडेल्धुरामा ५४ जना, कैलालीमा ४४, बैतडीमा २४, कञ्चनपुरमा ९, डोटीमा ६, बझाङमा ५ र दार्चुलामा दुई जनामा संक्रमण देखिएको जोशीले बताउनु भयो ।

मुसामा देखिने माइट अर्थात् किर्नाबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने नसर्ने डाक्टरहरुकाे भनाइ छ । माइट अर्थात् किर्ना प्रायजसो झाडी, खेतबारी, वनजगंल तथा घुरान हुने ठाँउमा देखा पर्ने जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताउनु भयो ।  स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, बिस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छोड्ने, समयै उपचार नभए दम बढ्ने, सास फेर्न गाह्रो भएर बिरामी सिकिस्त समेत हुन सक्ने डाक्टर ओखेडाको भनाइ छ । उहाँका अनुसार किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

यो रोगबाट बच्न खेतबारीमा काम गर्दा, वनजगंल झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घाँसमा वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासमा वा चौरमा नबस्ने, घाँस बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि नहुने वातावरणको सिर्जना गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

डेंगीको समेत संक्रमण

सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा डेंगीको संक्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । शनिबारसम्म ५४ जनामा डेंगीको संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा बाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ ।

 

सबैभन्दा बढी कैलालीमा २५ जना दार्चुला र कन्चनपुरमा ९-९ जना, डडेल्धुरामा ४ जना डोटी र बैतडी र अछाममा २-२ जना र बझाङमा १ जनामा डेंगीको संक्रमण देखा परेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो । 
 
प्रहरीद्वारा बजार सरसफाइ 

डेंगी र स्क्रब टाइफसको संक्रमण फैलिरहेको समयमा जिल्ला प्रहरी कार्यालयले यसबाट बच्न सदरमुकाम चैनपुर बजार सरसफाइ गरेको छ । शनिबार नेपाल प्रहरी, नेपाली सेना, सशष्त्र प्रहरीका साथै जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बजारमा भएका पानीका खाल्डाखुल्डी पुर्नुका साथै, घर आँगन र कार्यालयमा भएका झाडी तथा झारपात उखेल्दै बजारमा कुचाे लगाएर सरसफाइ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बहादुर बमले बताउनु भयो ।

सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्र चैनपुरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बजार सरसफाइ गरिएको हो । कार्यक्रममा यहाँका स्थानीयलाई पानी जम्मा भएका खाल्डा खुल्डी पुर्न र घर आँगनमा भएका झारपात उखेलेर सफा राख्न आह्वान गरिएकाे थियाे।
 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया