कृषि विकास बैंककाे सफ्टवेयर ह्याकिङ प्रकरणका एक एजेण्ट स्याङ्जाबाट प्रक्राउ

 असोज ९, २०७६ बिहिबार १६:४७:२४ | रासस

काठमाण्डाै - कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाण्डौ ल्याएर घटनाको अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

उनको बैँक खातामा ६५ लाख रुपैयाँ जम्मा भएकाे भए पनि उनले निकाल्न भ्याएका थिएनन् । यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ निकालेका पनि थिए ।

त्यसमध्ये १० लाख रुपैयाँ हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले ६० लाख रुपैयाँ बरामद गरिसकेको छ ।

यस प्रकरणका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाइ नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले पाँच अर्ब रुपैयाँ निकाल्ने योजना बनाएको खुल्न आएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया