आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १३ वर्षसम्म संक्रमणकालीन न्यायको व्यवस्थापन गर्न नसकेकोमा आत्मालोचना गर्नुभएको छ ।
१३ वर्षसम्म शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको द्वन्द्वका पीडित पक्षलाई न्याय दिन नसक्नुको मुख्य दोषी आफूहरु नै रहेको उहाँले बताउनुभएको हो ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अब सबै राजनीतिक दलहरुको सहमतिमा बाँकी काम यथाशक्य छिटो टुंगोमा पुर्याउन आफूहरु लागि परेको बताउनुभयो ।
विस्तृत शान्ति सम्झौता हुँदै गर्दादेखि युद्धरत दुवै पक्षका पीडितहरुको पीडा सम्बोधन गर्ने कुरा उल्लेख गरेको भन्दै उहाँले त्यसपछिका हरेक समयमा पीडितको पीडा समाधान गर्नेतर्फ आफू लागिपरेको पनि बताउनुभयो ।
पीडितहरुलाई न्याय दिन ढिलो भएकोमा क्षमायाचना गर्दै अध्यक्ष प्रचण्डले त्यसबाट शिक्षा लिएर कमीकमजोरी सच्याउँँदै यसलाई चाँडो टुंगोमा पुर्याउन सबै राजनीतिक दल एकजुट भएर लागेको पनि बताउनुभयो ।
पीडितलाई न्याय दिलाउने कामबाट भागेर समस्या समाधान नहुने भएकाले यसलाई मिलेरै समाधान गर्नतर्फ आफूहरु लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
विगतमा एकले अर्कोलाई होचो देखाउने, कमजोरी देखाउने खेलमा लाग्दा पनि समस्या समाधान गर्न समय लागेको भन्दै प्रचण्डले अहिले आएर सबै मिलेर समस्या समाधान गर्नुको विकल्प नभेटेको बताउनुभयो ।
यो विषयलाई टुंगोमा नपुर्याए संघर्ष र बलिदानपूर्वक ल्याएको उपलब्धि धरापमा पर्ने खतरा बढेकाले अब सबै मिलेर यो समस्या समाधान गर्ने दिशामा अघि बढेको पनि बताउनुभयो ।
अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धको सम्पूर्ण राम्रा र नराम्रा कामको जिम्मा लिने पनि बताउनुभयो । ‘सबै राम्रा र नराम्रा कामको म नैतिक र व्यवहारिक राजनीतिक जिम्मेवारी लिन्छु’, उहाँले भन्नुभयो, ‘म मोर्चा छाडेर भाग्दिनँ ।’
पछिल्लो समय कैयाैँ साथीहरु तितरबितर भए पनि आफू भने यो समस्याबाट नभाग्ने प्रचण्डले स्पष्ट पार्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न नसक्नुमा मुख्य दोष अरुभन्दा पनि राजनीतिक दल नै रहेको बताउनुभयो ।
आयोग, अदालत वा अरुलाई दोष दिनुभन्दा यो समस्या राजनीतिक प्रक्रियाबाट आएकाले राजनीतिक ढंगबाट राजनीतिक दल र सरकारले नै टुंगो लगाउनु जरुरी भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पीडितको घाउमा मल्हम लगाउन केही दि भित्रै आयोग र विधेयक बनेर पीडितहरुसँगको औपचारिक कुराकानीबाट समस्या समाधान गर्नेतर्फ काम अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।