दशैँ सुरु हुँदासमेत मनसुन सकिने संकेत देखिएन

 असोज १२, २०७६ आइतबार ८:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– आइतबारदेखि दशैँ सुरु भएको छ । दशैँ मनाउन घर फर्कनेहरुको चहलपहल बढ्दैछ । बजारमा किनमेल गर्नेको घुईंचो पनि उत्तिकै छ । तर झरी र बादल नहट्दा घर फर्कने र किनमेल गर्नेहरुलाई सास्ती थपिएको छ ।

काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य नाका नागढुंगामा जाम हुनुमा सडक चिप्लो हुनु पनि एउटा कारण हो । खाल्डाखुल्डी रहेको सडकमा पानी परेपछि झन् चिप्लो हुने भएकाले गाडी बिस्तारै गुड्ने र त्यसले चाप हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै झरीकै कारण धेरै ग्रामिण सडकमा गाडी चल्न सकेका छैनन् । यसअघि असार साउनमा वर्षाका कारण बन्द हुने ग्रामिण सडकमा दशैँको बेला गाडी चल्ने गर्थे । तर यस वर्ष दशैँ सुरु हुँदा पनि वर्षा नहटेकाले धेरै ग्रामिण सडकमा गाडी चल्न सकेका छैनन् । यसबाट दशैँ मनाउन घर फर्कनेहरुलाई सास्ती भएको छ ।

अझै मनसुन सकिने संकेत नदेखिएकाले दशैँको मुख्य दिन पनि घमाइलो नहुने हो कि भन्ने चिन्ता छ । माैसमविद् पनि उत्तिकै चिन्तामा छन् । ‘हामीले एक हप्तासम्मको मौसम पूर्वानुमान गर्न सक्छौं, अहिले हेर्दा एक हप्तामा मनसुन सकिने संकेत देखिंदैन’ मौसमविद् वरुण पौडेलले भन्नुभयो, ‘दशैँको मुख्य दिन फूलपातीदेखि विजयादशमीसम्म मौसम यसै होला भन्न सकिन्न । अहिलेको तुलनामा झरी कम भए पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना देखिन्छ ।’

सामान्यतया सेप्टेम्बर २३ अर्थात अघिल्लो हप्ता सोमबार नै मनसुन सकिनुपर्ने हो । तर यस वर्ष मनसुन लम्बिएको छ ।

सडक तथा हवाई यातायातमा अवरोध हुने सम्भावना

आइतबार पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । अझै तीन दिन मध्यमदेखि सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मध्य तथा पूर्वका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । यसले सडक तथा हवाई यातायातमा सामान्य अवरोध हुन सक्ने महाशाखाले जनाएको छ ।

लगातारको झरीले पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको माैसम पूर्वानुमान 

असोज १२ गते आइतबार

दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जनसहित चट्याङपर्ने सम्भावना छ । पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

राति :  देशभरी सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

असोज १३ गते सोमबार

दिउँसो : देशको पूर्व र मध्य भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ ।

राति :  देशको पूर्व र मध्य भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली हुनेछ । पूर्व र मध्यकासाथै पश्चिमका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

असोज १४ गते मंगलबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया