बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
बर्दिया - पाँच वर्षअघि २०७१ सालमा बबई नदीमा आएको बाढी गाउँमा पसेपछि बर्दिया ठाकुरबाबा नगरपालिकाका थुप्रै घरहरु डुबानमा परे ।
घरमा बाढी पसेपछि अन्न, लत्ताकपडा सबै बगायाे । साउन ३० गते शुक्रबार धेरैजसो गाँउमा बाढी पसेपछि प्रभावित स्थानीयले उद्धार गर्नुस्, बचाउनुस् भन्दै प्रहरीमा फोन गरे ।
बबई नदीको बाढीले बर्दियामा उनीहरु जस्तो बिजोग धेरैको भएको छ । बाढीबाट पूर्ण रुपमा क्षति भएका बर्दियाका झण्डै साढे ३ हजार बढी घरपरिवार अझै पीडामा छन् ।
‘बाढी आएपछि पाँच वटा दशैँ आए-गए तर राम्रोसँग दशैँ पनि मनाउन सकिएन, अब आउने दशैँ पनि त्यस्तै हुने भो । हामी बाढीपीडित हो, सरकारले हाम्रो खातामा पैसा पठाइहाल्छ भन्दै ऋण सापट गरेर, व्यापारीसँग उधारोमा सामान ल्याएर अपूरो घर बनाइयो, तर सरकारले अझै पैसा दिएन । साहुले पैसा माग्छन्, कहाँ पाएर तिर्ने’, बाढीपीडित हरि लम्सालले भन्नुभयो ।
बबई नदीमा आएको बाढीले सदरमुकाम गुलरियासहित, हालको बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका लगायतका धेरैजसो गाउँ डुबानमा परे । त्यस बाहेक बबई नदी नजिक पर्ने पहिलेका बगनाहा, नेउलापुर, पदनाहा, बनियाभार, मोहम्मदपुर, मगरागढी, शिवपुर, सुर्यपटुवा, ठाकुरद्वारा गाविस क्षेत्रका धेरैजसो गाउँ पनि डुबानमा परे ।
त्यसबेलाकाे बाढीका कारण बर्दियामा २३ जनाको ज्यान गएको तथा ९ जना बेपत्ता भएका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । नदी आसपास क्षेत्रका झण्डै १४ हजार घरमा बाढी पसेपछि न समयमै उद्धार भयो, न अहिलेसम्म उनीहरुले उचित राहत नै पाए ।
२०७२ साल वैशाखकाे भूकम्प पीडित सरह २०७१ सालका बाढीपिडितहरुलाई पनि राहत दिने भनेर नेपाल सरकारले घोषण गरे पनि अहिलेसम्म उनीहरुले घर बनाउने राहत रकम पाएका छैनन् ।
भूकम्पपीडित सरह बाढी पीडितलाई घर बनाउन राहत रकम दिने घाेषणा गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ पीडितको खातामा पनि पठायो । त्यसपछि भने केही पाएका छैनन् । नेपाल सरकारले काखा र पाखाकाे व्यवहार गरेको बाढीपीडित संर्घष समिति बर्दियाका अध्यक्ष डिल्लीराज खनालको आरोप छ ।
पहिलो किस्ता दिएर जग हालेकाे ३ वर्ष पुग्न लाग्दासमेत बाँकी प रकम नदिएकाले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै बाढिपीडित संघर्ष समितिका पुर्वअध्यक्ष विन्तिराम थारुले भन्नुभयाे, ‘कि तुरुन्तै थप रकम दिनु पर्यो, हैन भने दिन सकिन्न भन्दिनुपर्यो’ ।
पूर्ण क्षति भएका बाढीपीडितलाई घरको जग बनाउन सरकारले पहिलो किस्ता वापत ५० हजार दिएपछि जग बनाएकाे र त्यसपछि रकम नपाएकाले दिनहुँजसो नगरपालिकामा धाउने गरेका ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।
बाढिपीडितहरुले माग सुनुवाइ नभएको भन्दै नगरपालिका कार्यालय परिसरमा रिले अनसन र धर्ना दिन थालेका छन् । आफूहरुको माग संवोधन नभएमा दशैँतिहार पनि नभनेर अनिश्चितकालीन आन्दोलनमा जाने उनीहरुले जनाएका छन् ।
नेपाल सरकारले भूकम्पपीडित सरह बाढीपीडितलाई घर बनाउन ३ लाख रुपैयाँ दिने घोषणा गरे पनि ५० हजार दिएर थप रकम दिन चासो नदिएको भन्दै बाढीपीडितहरु नगरपालिकामा धर्ना बसेका पीडितहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो पनि पोखे, पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र समेत बुझाए ।
बाढिपीडितको गुनासो जायज भएको र आफूले पनि गम्भीर भएर बाढीपीडितको माग सम्बोधन गर्न पहल थालेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।