दाइजोका कारण विराटनगरकी रञ्जुदेवीको जोगबनीमा हत्या

 असोज २६, २०७६ आइतबार १८:११:५० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – दाइजो नदिएको भन्दै जोगबनीमा एक महिलाको हत्या भएको छ । विराटनगर महानगरपालिका–११ पञ्चमुखी चोकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी (बहरदार) को जोगबनीमा हत्या भएको हो ।

भारतको अररिया जिल्लामा पर्ने परवाना नदीको मिरगन्ज पुलनजिकै रञ्जुको हत्यापछि शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको छ । स्थानीयवासीले उनको शव खोलामा देखेपछि जोगबनी प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको निर्देशनमा मृतकको शवलाई आफन्तले खोलाबाट निकालेका छन् । शवको पोष्टमर्टमपछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माइतीपक्षले बताएका छन् । हत्यामा संलग्न चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । जोगबनी प्रहरी चाैकीका इञ्चार्ज अफताब अहमदका अनुसार रञ्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया पक्राउ परेका छन् ।

हत्यामा संलग्न चारजनाविरुद्ध रञ्जुका माइतीपक्षले भारतीय प्रहरीसमक्ष ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गराएका छन् । पक्राउ परेका चार जनामाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बी, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भैसकेको जोगबनी प्रहरी थानाले जनाएको छ ।

रञ्जुको हत्याको कारण दाइजाे

गएको फागुनमा भारतको अररिया जिल्लाको तकिया निवासी २५ वर्षीय भीम बहरदारसँग रञ्जुदेवीको विवाह भएकाे थियाे । विवाहपछि बहरदार परिवारले पटक-पटक रञ्जुलाई दाइजोको विषयमा मानसिक र शारीरिक यातना दिँदै आएका थिए र दाईजोकै दबाबका कारण माइतीपक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएकाे बताएका छन् । 

‘हामीले भर्खरै मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौँ’, रञ्जुका हजुरबुबा उमालाल सहनीले भन्नुभयो, ‘फेरि छोरीका सासु–ससुरा र श्रीमानले पसल गर्न भनेर दुई लाख मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो ।’

यसअघि पनि छोरीलाई सासू–ससुरा र श्रीमानले पटक-पटक दाइजोको लागि यातना दिँदै आएको उमालालले बताउनुभयो । पछिल्लो पटक माग गरिएको दुई लाख नदिएकै कारण नातिनीले ज्यान गुमाउनु परेको उमालालको भनाइ छ ।

दुई दिनदेखि हराएकी रञ्जुको बारेमा जोगबनी थानामा माइतीपक्षले शनिबार उजुरी दिएका थिए । भारतीय प्रहरीले माइतीपक्षको निवेदनका आधारमा परिवारका चार जनालाई फक्राउ गरेको हो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया