विदेशी पाहुना आउँदा हतारहतार सडक टालटुल गर्ने होइन, सँधैका लागि राम्रो बनाऔँ

 असोज २७, २०७६ सोमबार १६:४७:४७ | ध्रुवराज रेग्मी
unn.prixa.net

काठमाण्डौ – विशिष्ट अतिथिको सम्मानमा काठमाण्डौका सडक सुधार गरिएको छ । कहीँ रंगरोगन गरिएको छ । कहीँ झिलिमिली पारिएको छ । कुनै ठाउँमा पार्क नै निर्माण गरिएको छ । 

यो सामान्य हो । यसलाइ अतिशयोक्ति मान्नु उचित हुँदैन । किनकी पाहुनाको स्वागत गर्ने हाम्रो परम्परागत प्रचलन नै हो । पाहुना आउँदा घर चिटिक्क पार्नु हाम्रो कर्तव्य पनि हो । अहिले चिटिक्क पारेझैँ यो संरचनालाई सँधै टिकाइराख्न भने जरुरी छ । यो देखावटी मात्रै नभै काठमाण्डौका सडक सँधैका लागि खाल्टाखुल्टीरहित हुन् भन्ने सबैको चाहना हो । यसका लागि आवश्यक काम गर्न ढिला गर्नै हुँदैन । 

अहिले बनाइएको संरचना पाहुना फर्कनेबित्तिकै फेरि पहिले जस्तै भताभुङ्ग त हुने होला नि भनेर विभिन्न आशंका पनि उब्जिएको छ । तीनकुनेमा बनेको संरचनालाई अब स्थायी रुपमा नै राख्नु पर्छ । हामीले चाहेको पनि यही हो । सडकको डिभाइडर बोटविरुवा, फूलले सजाइयोस् । कहीँकतै राम्रो पार्क होस् । त्यो देख्दा आँखालाई पनि सुन्दरता अनि आनन्द दिलाओस् । यो त हामी सबैको चाहना हो । हामीले यस्तो पार्कहरु विकास गर्ने, फूल रोप्ने, बोटविरुवा रोप्ने जस्ता काम त नियमित जस्तै गर्न पर्ने हो । कुनै अवसर पर्खेर बस्नु पर्ने अवस्था नै होइन नि । 

यस्तै काठमाण्डौ उपत्यकाका सबैतिरका सडक खाल्टाखुल्टीरहित बनाउनु जरुरी छ । हुन त काठमाण्डौ उपत्यकामा मात्रै होइन देशैभरका सडक सुधार हुनुपर्छ । राम्रो सडकमा हिँड्न पाउनु नागरिकको अधिकार नै हो । यसमा सरकारले पर्याप्त ध्यान दिएर निर्माण र मर्मतका कामलाई तीव्रता दिनुपर्छ । विदेशी विशिष्ट पाहुना आउँदा करोडौँ खर्चेर बनाइएका संरचना ती पाहुना फर्कनेबित्तिकै भताभुङ्ग हुनबाट जोगाउन उत्तिकै जरुरी छ ।  

यो बेला विदेशी पाहुना हिँड्ने रुटमै बनाइएको सडक पनि टिकाउ हुने गरी संरक्षण गर्नु पर्छ । मुख्यतयाः हामीले सडककै कुरा गर्नु पर्दा पनि सडकको स्तर निर्धारण गर्नु जरुरी भइसकेको छ । हामीकहाँ सडकको स्तर नै निर्धारण भएको छैन । कुन स्तरको सडक कायम गर्ने भन्ने मापदण्ड तयार गरेर निर्माण गरियो भने अहिले जस्तो विदेशी विशिष्ट पाहुना आउँदा हतारहतार टालटुल गर्नुपर्ने अवस्था नै रहने थिएन । अब सरकारले नै हाम्रा सडक यो स्तरका यस्ता बन्छन् भनेर त्यही मापदण्डअनुरुप बनाउन लगाउनु पर्ने बेला भइसकेको छ । 

त्यसका लागि आवश्यक लगानी र त्यही अनुसारको संरचनागत व्यवस्था पनि हामीले तयार पार्नु पर्ने आवश्यकता छ । हाम्रो हैसियतअनुसारको सडकको स्तर निर्धारण गर्ने र त्यो स्तर कायम गर्न आफ्ना कार्यक्रमहरु कार्यान्वनमा लैजान सरकार अग्रसर हुनु पर्यो । यति काम गर्न नसक्ने भन्ने नै होइन । तर हामी सडकको स्तर कस्तो कायम गर्ने भन्नेमै अघि बढ्न सकेका छैनौँ । पहिलो काम भनेको सडकको स्तर निर्धारण गर्ने हो । त्यसपछि मात्रै हाम्रो निर्माणको कामलाई कसरी अघि लैजाने भन्ने कुरा हो ।  

कमसेकम मुख्य सडकहरुका खाल्टाखुल्टी हुनुभएन । सडक मर्मत गर्न बजेट पनि यथेष्ट राखिएको हुन्छ । तर पनि हामीले काठमाण्डौ उपत्यकाकै मुख्य सडक हेर्ने हो भने ठाउँ ठाउँमा खाल्टाखुल्टी पाउछौँ । कम्तीमा त्यो त मर्मत गरिदिनु पर्यो । मर्मत सम्भार नगरिनु भनेको कहीँ न कहीँ केही कमजोरी भएकै छ । सडक विभागले गर्ने मर्मत सम्भारको हकमा नियमित पटके मर्मतका लागि यथेष्ट बजेट राखिएको हुन्छ । त्यहाँ संस्थागत संरचना पनि छ । तर काम भइरहेको छैन । यसको खोजी गर्नु जरुरी छ ।

अहिले चिनियाँ राष्ट्रपति आउँदा जुन किसिमले उहाँ हिँड्ने रुटमा चिल्लै हुने गरी पिच गरिएको छ । तर त्यसको दायाँ बायाँ कतै पनि सडकले पुनर्जीवन पाएका छैनन् ।  अहिले बनेकै सडक पनि कति दिन टिक्ला र भन्ने प्रश्नहरु सर्वसाधारणले गरिरहेका छन् । 
यसमा दुई वटा कुरा महत्वपूर्ण रहन्छ । एउटा कुन किसिमले यो सडक अहिले पिच गरियो भन्ने कुराले महत्व राख्छ । यो कति समय टिक्ने गरी डिजाइन गरिएको छ भन्ने कुरा पनि महत्वपूर्ण नै रहन्छ । 
डिजाइन राम्रै भएको भए पनि त्यसको मेन्टेन समय समयमा गर्नु जरुरी रहन्छ । यस्तै पानी जम्ने खालको सडक छ भने त्यसमा जतिसुकै राम्रो पिच गरे पनि त्यो धेरै टिक्दैन । एक सिजनमा नै बिग्रन्छ । 
त्यसैले सडक टिकाउका सन्दर्भमा एउटा कुरा मात्रै पर्याप्त रहँदैन । त्यसका लागि ढल निकास मुख्य कुरा हो । ढल निकास पर्याप्त हुनुपर्छ । यसको निकास भएन भने जतिसुकै राम्रो गरे पनि टिक्दैन । 
आँखाले विदेशी पाहुनाको स्वागतका लागि बनाइएको सडक हेर्दा चिटिक्क पारेको देखिन्छ । म आफै प्राविधिकको आँखाले हेर्दा मैले राम्रै पाएको छु । तर समयमा मर्मत सम्भारको ध्यान नदिने अनि पानीको व्यवस्थापन नगर्ने हो भने यो सडक पनि धेरै टिक्नेवाला छैन । 

सडकको जिम्मेवारी महानगरको 

सडक मर्मत सम्भार कसले गर्ने ? हेरचाह कसले गर्ने भन्ने कुरा बेलाबेला व्यापक रुपमा उठेको पाउँछु । धेरैलाई सडक भन्नेबित्तिकै यसको हेरचाह, मर्मत सम्भार सडक विभागले नै गर्नु पर्ने हो भन्ने लाग्छ । तर त्यस्तो होइन । काठमाण्डौ उपत्यकाको मात्रै कुरा गर्ने हो भने यहाँका सडकको लम्बाइ झण्डै २ हजार किलोमिटर जति होला । त्यो २ हजार किलोमिटरमध्ये झण्डै ३ सय किलोमिटर सडक मात्रै सडक विभागको जिम्मामा छ । बाँकी यहाँको महानगरपालिका, नगरपालिकाको जिम्मामा छ । 

त्यसैले सडक मर्मत र त्यसको हेरचाहको मुख्य जिम्मेवारी त यहाँका पालिकाहरुकै हो । सडक विभागलाई मात्रै दोष दिएर हुँदैन । यसमा स्थानीय सरकारको जिम्मेवारी ठूलो छ । यति ठूलो जिम्मेवारी रहँदा रहँदै पनि उनीहरुले यसको मर्मत र संरक्षण गर्न सकेको भने देखिँदैन । उहाँहरुसँग सस्थागत संरचना पनि छैन । सिस्टम पनि छैन ।

बरु नयाँ बाटो खोल्नमा मात्रै उहाँहरुको चासो बढी छ । त्यही कुरा प्राथमिकतामा पर्छ । तर पुरानो सडक मर्मत सम्भार गर्ने संस्कार नै छैन । हुन त हामीमा मर्मत सम्भारको कल्चर नै बस्न सकेको छैन ।   

अहिले रातारात जसरी खटेर काम गरियो त्यसले नै यो परिणाम दिएको हो । सँधै यसरी नै खट्न सकिन्छ भन्ने त नहोला । तर खटेर काम गर्ने हो भने त हामीले गर्न नसक्ने केही छैन । हामीले हाम्रा सडकहरु कुन स्तरमा राख्ने एउटा मापदण्ड निर्धारण गर्नु जरुरी छ । त्यो मापदण्डअनुसार राख्नुपर्छ । त्यो राखियो भने मात्र अहिले जस्तो टालटुल गर्ने वातावरण हट्छ । 

हामीसँग जनशक्ति पनि पर्याप्त छ । क्षमता पनि छ । यदि क्षमता नभएको भए त अहिले यस्तो बनाउनै सक्ने थिएनौँ । तर हामी लागि पर्दैनौँ । हामी संरचना त निर्माण गर्छौँ तर त्यसको स्थायित्वमा ध्यान दिँदैनौँ । यो हाम्रो रोग नै बनेको छ । यो एउटा सामान्य कुरा हो । सामान्य कुरा पनि भइरहेको छैन । यही आश्चर्यलाग्दो छ ।  

जसलाई जुन जिम्मेवारी दिइएको हो उ यसप्रति जिम्मेवार बन्नुपर्छ । जिम्मेवारी दिने तर उसलाई जिम्मेवार नबनाउने त्यसै छाडिदिने चलन हाम्रोमा छ । कामको जिम्मा लिएर काम नगरे उसलाई दण्डित गर्नुपर्छ । त्यो गरियो भने मात्रै काम छिटो र राम्रो हुन्छ । काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने व्यवस्था छ तर पालना छैन । यसले गर्दा सबै क्षेत्रमा दण्डहीनता बढेको छ । नियम पालना नहुनु नै हाम्रो समस्या हो । 

अहिलेको जस्तै सबै चिल्लो बनाउन त नसकिएला । त्यसका लागि लगानी आवश्यक पर्छ । त्यो नहुँदासम्म यस्तै हो । काठमाण्डौ उपत्यकाकै सडक राम्रोसँग काम गर्न लगानीको अभाव हुनु उचित कुरा होइन । पर्याप्त लगानी आवश्यक छ ।  

(सडक विभागका पूर्व उपमहानिर्देशक रेग्मीसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: कात्तिक २७, २०७६

ध्रुवराज रेग्मी

रेग्मी सडक विभागका पूर्व उप-महानिर्देशक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया