गाउँका बुढापाकालाई काेसेली लिएर आए परदेशी

 कात्तिक २, २०७६ शनिबार १२:३८:९
unn.prixa.net

सागर बिक्रम बस्नेत / रामेछाप 

परदेसिएका नेपालीहरु छुट्टी मिलाएर दशैँमा घर आउन चाहन्छन् । वर्षौँपछि आफ्नो परिवारलाई भेट्न आउँदा केही न केही उपहार लिएर जाउँ भन्ने सबैलाई लाग्छ नै । परिवारको लागि लत्ताकपडा र टीभी, मोबाइल आदि लिएर आउँछन् ।

तर वैदेशिक रोजगारीमा ओमान पुग्नुभएका रामेछाप भालुखोपका अर्जुन कार्कीको मनले भने घरपरिवारका सदस्यलाई मात्रै लत्ताकपडा लिएर जान मानेन । कार्कीले नयाँ कुरा सोच्नुभयो । दिमागमा नयाँ योजना फुर्‍यो, यसपालिको दशैँमा गाउँका सबै हजुरबुवाहरुलाई खुशी पार्ने । 

तर कसरी ? ‘चिसोको मौसम सुरु हुँदैछ, बुढापाकाहरुलाई जाडोले सताउँछ, न्यानो पार्न सके त हुन्थ्यो’, त्यसपछि उहाँले यही योजना बनाउनुभयो, ‘यसपालिको जाडो बुढापाकाको लागि न्यानाे बनाउने ।’

गाउँमा दशैँको चहलपहल थियो । केटाकेटीहरु पिङको लठ्ठामा झुण्डिएर रमाइरहेका थिए । शहरबाट गाउँ आउनेहरु सवारी साधनमा कोचिएर, चेपिएर गाउँ फर्किइरहेका थिए । परदेशीहरु गतिलो सुटकेस बोकेर गाउँ फर्किएको पनि देखियो ।

दशैँको चटारो र हतारोले कोही पनि फुर्सदिला थिएनन् । केटाकेटीले लगाएका नयाँ लुगा र घरघरमा दशैँ गीत घन्किरहेका थिए । देशविदेशबाट दशैँमा घर फर्किनेहरुले गर्दा गाउँमा नयाँ उत्साह थियो । त्यही उत्साहलाई थप रङ्गीन बनाउनुभयो अर्जुन कार्कीले । 

उहाँले परदेशबाट सिम्लेका ७० वर्ष उमेर माथिका २२ जना वृद्धवृद्धालाई नगद दुई हजार र लत्ताकपडा लिएर आउनुभयो । अर्जुनले ओमानमा भएकै बेला स्थानीय व्यक्तिसँग समन्वय गरी २२ जना असहाय तथा बुढापाकाका लागि सहयोग गर्ने योजना बनाउनुभएको थियो । 

गाउँबाट विदेश जाने दर बढ्दै गएपछि धेरै वृद्धवृद्धाहरु सहारविहीन बन्दै गइरहेका छन् । शुकाजोर सिम्लेमा आयोजित सम्मान कार्यक्रममा सहभागी अधिकांश वृद्धवृद्धाहरुले आफ्नो छोराहरु रोजगारीको सिलसिलामा विदेशमा रहेको बताए ।

विदेशमा दुःख गरेरै कमाएको पैसाले हामी जस्ता वृद्ध तथा अपाङ्गका लागि सहयोग गरेको भन्दै कार्कीलाई हिमालझैं अटल, सूर्यझैं तेज रहनको लागि वृद्धवृद्धाले आशीर्वाद पनि दिए । अर्जुनले पनि उहाँहरुको आशीर्वादले आफूलाई सेवामा सधैँ लागिरहन अभिप्रेरित गर्ने बताउनुभयो ।

‘विदेशमा दुःख गरेको पैसा सहाराविहीन, अशक्त, अपाङ्गका भएका व्यक्तिलाई सहायतास्वरुप दिन पाउँदा अमूल्य सन्तुष्टि मिल्छ’, उहाँले भावुक हुँदै आफ्नो खुशी व्यक्त गर्नुभयो ।

ओमनको रिनाइसेन्स कम्पनीमा ६ वर्षदेखि सुपरभाइजर पदमा कार्यरत कार्की दशैँका लागि १८ दिनको बिदा लिएर घर आउनु भएको हो । कार्कीले बर्सेनि व्यक्तिगत रुपमा सहयोग गर्दै आउनुभएको छ । तर राम्रो काम गर्दा पनि होच्याउने र खुट्टा तान्नेहरु धेरै हुन्छन् । आफूले पनि यस्ता यावत कुराहरु झेल्नुपरेको उहाँ बताउनुहुन्छ ।

‘बिनास्वार्थ असहाय, अपाङ्ग, अशक्त वृद्धवृद्धाका लागि गरेको सहयोगलाई समेत राजनीतिसँग जोडेर व्याख्या गर्छन् कसैले’, उहाँले दुःख व्यक्त गर्नुभयो, ‘कतिले त धेरै पैसा उठाएर थोरैमा टारेको भन्ने पनि आरोप लगाउँछन् ।’

राम्रो काम गर्दा यस्ता आरोप लाग्ने गर्छन् । केही नयाँ काम गर्नेहरुसँग जल्नेहरु पनि धेरै हुन्छन् । तर सामाजिक सेवाको लागि यस्ता झुठा प्रचार र आरोपले  हरेस नखाने बताउनुहुन्छ अर्जुन कार्की ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया