कम बोल्ने स्वभावका सौगात भन्छन् ‘म बोल्नका लागि अभिनेता बनेको होइन’

 कात्तिक ३, २०७६ आइतबार ११:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सौगात मल्ल अभिनित सिनेमा ‘पोइ पर्‍यो काले’ दिपावलीको अवसर पारेर कात्तिक ८ गते अर्थात् आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यतिबेला उनी यही सिनेमाको प्रचार–प्रसारमा व्यस्त छन् ।

प्रचार–प्रसारमा निर्माण टोलीसँग हिँडे पनि मिडियासँग भने सौगात खासै खुलेर कुराकानी गर्ने कलाकारमा पर्दैनन् । उनी प्रायः कार्यक्रममा उपस्थित त हुन्छन् तर कम बोल्छन् । सानैदेखि अलि कम बोल्ने बानी उनको छ ।  उनले मिडियासँग कम बोल्नुको कारणसँगै सिनेमामा लाग्नुको उद्देश्य पनि खुलाएका छन् । प्रस्तुत छ उनकै शब्दमा :

बाल्यकाल

मेरो बाल्यकाल नवलपरासीमा बितेको हो । सबैको बाल्यकाल रमाइलो हुन्छ जस्तो मलाई लाग्छ । मेरो पनि रमाइलो रह्यो । बाल्यकाल यस्तो समय हो जुन बेला हामीलाई के सही हो र के गलत भन्ने नै थाहा हुँदैन । हामी त्यो पललाई रमाइलोसँग बिताइ रहेका हुन्छौँ । जे छ त्यही परिस्थिति अनुसार रमाएर चल्ने गर्छौँ । अहिलेको समय भनेको प्रायः काममा ध्यान जाने समय हो । तर त्यो समयमा न त समयको ख्याल हुन्छ न त अरु केहीको । हामी आफ्नो बिताईरहेको क्षणमा नै रमाई रहेका हुन्छौँ ।

बाल्यकालमा म अलि चकचकेँ थिएँ । साथीहरुसँग मिलेर चकचक गरिन्थ्यो । हामी अरुको बारीमा भएको फलफूल चोर्न पनि जान्थ्यौँ । मैले विद्यालय स्तरको अध्ययन परासी बजारमा गरेँ ।

पहिलो प्रेमको अनुभव

स्कुल पढ्दादेखि नै म अलि रोमान्टिक खालको थिएँ जस्तो लाग्छ (हाँसो) । माया प्रेमको कुरा गर्ने हो भने स्कुल पढ्दा पनि कसैलाई हेरिन्थ्यो । झट्ट हेर्दा कोही राम्रो लाग्थ्यो । तर माया प्रेममा भने परिएन । मैले त प्रेम पत्र पनि लेखिन (हाँसो) । 

पहिलो प्रेमको अनुभव भने छ मसँग । त्यो प्रेम भनेको विशेष हुन्छ । जे कुरामा पनि रमाइलो हुने । जे कुरा पनि रमाइलो लाग्ने । पहिलो पटक प्रेमको आर्कषण हुँदा मैले एसएलसी दिइसकेको थिएँ । त्यो अघि भने मलाई त्यस्तो केही पनि भएन । याद पनि छैन ।

पहिलो डेटको कुरा गर्ने हो मनमा एक किसिमको खुशी र डर दुवै महसुस भएको थियो । हामी त रेष्टुरेण्ट र पार्कको साटो बाटोमा डेटिङ गएका थियौँ । डेटिङ्गमा खासै त्यस्तो कुरा त भएन । घर र स्कुल कै कुरा हुन्थ्यो । त्यस्तो खासै बोलिदैनथ्यो ।

सानैबाट सिनेमाको रहर

सानैदेखि सिनेमामा रुची थियो । अनि कसैले आफ्नो सिनेमामा लिइहाल्छ की भनेर ज्यान ठूलो बनाउँदै गएँ । तर त्यो मेरो सोच थियो । सानै बेलादेखि कलाकार बन्न मन थियो । जति सक्यो छिटो अभिनेता बनौँ भन्ने सोच्थेँ तर त्यस्तो भएन ।

अभिनयको लागि सबै अभ्यासहरु म घरमै गर्थेँ । १४ वर्षको उमेरमा भैरहवामा आयोजना भएको कार्यक्रममा म ‘मिस्टर लुम्बिनी’ भएको थिएँ । जति सक्यो छिटो हिरो बन्नुपर्छ भनेर नै मैले ज्यान बनाएको थिएँ । मैले ज्यान बनाएको देखेर मेरो ट्रेनरले मलाई यति सिकिसकेपछि तिमीले केही गर्नुपर्छ है भन्नुहुन्थ्यो । गुरुले भनेपछि नै म त्यो कार्यक्रममा सहभागी भएको थिएँ । तर त्यसपछि भने म कहिल्यै पनि त्यस्तो कार्यक्रममा सहभागी भएको छैन ।

फरक चरित्रमा देखिनु मेरो चाहना

सिनेमामा भने मलाई एउटै रुपमा मात्र नदोहोरिएर फरक–फरक चरित्रमा देखिन मन लाग्छ । यही कारण पनि म प्रायः सिनेमामा फरक अवतारमै देखिने गरेको छु । मलाई कलाकारितामा लागेर सबैले चिन्नुहुन्छ यो मेरो लागि सबैभन्दा ठूलो खुशी हो ।

दर्शकले जुन किसिमको माया दिनुहुन्छ त्यो देखेर मलाई खुशी लाग्छ । मैले यो क्षेत्रमा लागेर पाएको दुःख भने केही पनि छैन । अलि–अलि अप्ठ्यारो सबै कुरामा र सबै क्षेत्रमा हुन्छ । कहिलेकाहीँ मिडियाबाट केही नराम्रा कुराहरु आउँदा पनि केही फरक पर्दैन । किन भने मलाई उहाँहरुले पनि आफ्नो काम गरिरहनु भएको छ जस्तो लाग्छ ।

बोल्न हैन काम गर्न आएको हुँ

धेरैले मलाई कम बोल्छ भन्नुहुन्छ । तर मैले यो क्षेत्र बोल्नलाई हैन काम गर्नलाई छानेको हो । मलाई सानैदेखि अभिनयमा रुची भएका कारण म अहिले यहाँ छु ।

जुन क्षेत्रमा काम गर्न मन लाग्दैन, म गर्दिन । यहाँ म रमाइलो गर्न आएको हो । मेरो बानी कस्तो छ भने, अरुले बोलेको कुरा म दिनभरी सुन्न सक्छु तर आफूले बोल्न भने त्यति मजा लाग्दैन । जुन कुरा मज्जा लाग्दैन त्यो कुरा गर्नु राम्रो हुँदैन । त्यही भएर पनि हो म खासै मिडियासँग बोल्ने गर्दिन ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: कात्तिक २९, २०७६

तपाईको प्रतिक्रिया