हिमाल आरोहणका क्रममा दोलखामा स्पेनी नागरिकको ज्यान गयो

 कात्तिक ३, २०७६ आइतबार १७:३४:२९ | उषा तामाङ
unn.prixa.net

दोलखा – हिमाल आरोहणका क्रममा दोलखामा एक जना स्पेनी नागरिकको ज्यान गएको छ । 

गौरीशंकर गाउँपालिका ९ को गौरीशंकरमा पर्ने ‘चुकिमा गो’ हिमाल आरोहण गर्ने क्रममा ४४ वर्षीया लुइल फेलिपे भल्भरोय गुज्रम्यानको ज्यान गएको हो । यो हिमालको उचाइ ६ हजार दुई सय ५८ मिटर रहेको छ । 

उहाँको ‘स्नो एन्करिंग (हिउँमा डाेरी अड्याउन धारिलाे उपकरण खाेप्ने काम)’ का क्रममा लडेर घटनास्थलमै ज्यान गएको हो भने उहाँका सहकर्मी स्पेनी नागरिक डेभिड सुइला फर्नान्डेस घाइते हुनुभएको छ ।

फर्नान्डेसलाई डोरीको बीचमा अड्किरहेको अवस्थामा उद्धार गरी हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशम बोहराले जानकारी दिनुभयो । 

चार जना स्पेनी नागरिकको टोली हिमाल आरोहणका लागि अन्नपूर्ण ट्रेक एण्ड एक्सपिडिसनमार्फत गएको असोज १२ गते काठमाण्डौबाट दोलखा आएका थिए । बाँकी दुई जना आरोहीको अवस्था भने सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया