मन्त्रीको स्वार्थमा चिकित्सा शिक्षा आयोग चलाइएको डाक्टर केसीको आरोप: माग पूरा नभए फेरि अनसन बस्ने

 कात्तिक ३, २०७६ आइतबार १८:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले गरेका केही निर्णयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले पूर्णता नपाउँदै हतार हतार नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी निर्णय सीटीइभीटीलाई सुम्पिएकोमा आपत्ति जनाउनुभएको हो ।

उहाँले सबैभन्दा भद्रगोल अवस्थामा रहेको नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुनेगरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक वफादारी छर्लंग पारेको आरोप लगाउनुभयाे ।

उहाँले जनशक्तिको आवश्यकता र हाल चलिरहेका नर्सिङ कलेजको अवस्थाबारे बृहत् अध्ययन नगरी थप कलेजलाई सम्बन्धन नदिन आयोगको ध्यानाकर्षण पनि गराउनुभएको छ । त्यस्तै आयोगले पूर्णता नपाउँदै हतार हतार एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क बढाउने निर्णयप्रति पनि डाक्टर केसीले आपत्ति जनाउनुभएको छ ।

डाक्टर केसीले आफ्ना माग पूरा नभए यही कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने पनि चेतावनी दिनुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया