विदेश जानेलाई निःशुल्क तालिम, सित्तैमा सीप सिक्नेको संख्या चाहिँ कम

 कात्तिक ७, २०७६ बिहिबार १५:४४:८ | उज्यालो सहकर्मी

काठमाडौ – वैदेशिक रोजगार विभागको तथ्याँकअनुसार वैदेशिक रोजगारीमा सीप सिकेर जानेभन्दा सीप नसिकी जानेको संख्या दोब्बर छ । 

गएको आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै २ लाख ८५ हजार ४४५ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । १ लाख ७९ हजार ६०१ जना मात्रै दक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्याँक छ ।

दक्ष कामदारको तुलनामा अदक्ष कामदारको संख्या एक लाख ५८ हजार ४४ जना बढी छ । वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिने पाँच लाख ८ हजार ८२७ जनामध्ये ५६ प्रतिशत सीप नभएको विभागको तथ्याँकले देखाउँछ । 

विभागको तथ्याँकअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष कामदार छन् । सीप सिकेर जाँदा विदेशमा करार सम्झौता अनुसारकै काम पाउने र सीप नसिकी जाँदा करार अनुसारको काम र तलब पनि नपाउने वैदेशिक रोजगारीबाट फर्किएका धेरैको भोगाई छ ।

अदक्ष कामदार रोजगारीका लागि गएकै कारण अरु देशका कामदारको तुलनामा नेपाली कामदारले विदेशमा कम तलबमा काम गर्नु परिरहेको छ । 

दक्ष कामदार मात्र विदेश पठाउने लक्ष्यसहित सरकारले सीप सिकेको प्रमाणपत्र विना अन्तिम श्रम स्वीकृति नदिने तयारी गरिरहेको छ । यो नियम लागू गर्ने तयारी गर्दै गर्दा सरकार आफै पनि विदेश जाने युवालाई निःशुल्क तालिम दिन जुटिरहेको छ । सातै प्रदेशमा सीप विकास तालिम केन्द्र खोल्नेदेखि तालिम दिने संस्था छनोट गर्ने काम भैरहेको छ । 
साथै सुरक्षित आप्रवासन सामी परियोजनाले पनि गएको १० वर्षदेखि वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क सीप तालिम दिइरहेको छ ।  

सन् २०११ देखि २०१७ सम्ममा सामीले ९ हजार ३ सय ६३ जनालाई विभिन्न सीपमुलक तालिम दिएको छ । सन् २०१८ देखि २०२२ सम्मको अवधिमा सामीले सात हजार युवालाई तालिम दिने लक्ष्य राखेको छ ।

त्यसका लागि ७ वटा तालिम प्रदायक संस्था छनोट गरिसकेको सामी टिम लिडर सीता घिमिरेले जानकारी दिनुभयो । 

वैदेशिक रोजगार बोर्डले भने यो आर्थिक वर्षमा मात्रै १५ हजारलाई सीपमुलक तालिम दिनका लागि १५ वटा तालिम प्रदायक संस्थाको छनोट गरिसकेको छ । १९ प्रकारका श्रमका लागि युवालाई सीप तालिम दिने बोर्डको तयारी छ ।

सीप सिक्नेको संख्या कम

सामीले १० वर्ष अघिदेखि नै वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क तालिम दिने गरेको छ । 

तर विदेश जाने युवामा भने अझै सीप सिकेर जानुपर्छ भन्ने सोचको विकास नभएकाले कुनै समय त सीप सिकाउनका लागि संख्या नै नपुग्ने गरेको सामी परियोजना सीप विकास संयोजक सुनिला बानियाँले बताउनुभयो । 

‘धेरैजसोलाई जानकारी नै हुँदैन, सीप सिकेर जाँदाका फाइदा कसैले बताइदिएको पनि हुँदैन, त्यसैले पनि कहिलेकाहीँ त तालिम सुरु गर्ने समय हुँदा पनि सिक्ने मानिसको संख्या नपुगेको थुप्रै पटक छ,’ बानियाँ भन्नुहुन्छ, ‘जिल्लामा रहेका सूचना केन्द्रमार्फत कतिपय आउनुहुन्छ, तर सीप सिक्नुपर्छ भनेर आफै आउनेको संख्या निकै कम छ ।’

सन् २०२२ सम्ममा नेपाल सरकार तथा स्वीजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेका सात हजार जनालाई निःशुल्क तालिम दिन लागेको हो ।

कामदारको धेरै माग रहेको खाडीका देश र मलेसियामा चाहिने सीप निःशुल्क सिक्न पाइन्छ ।  

पुरुष कामदारले मेसन (डकर्मी) र सटरिङ कार्पेन्टर (फर्मा लगाउने), स्काफोल्डिङ्ग (फलामबाट बनेका पाइपको खट बाँध्ने), वेल्डिङ् र औद्योगिक इलेक्ट्रिसियनको तालिम लिन पाइन्छ । 

मेसनका र स्काफोल्डिङ्गका लागि कक्षा ५ भन्दा माथि र वेल्डिङ् तथा सटरिङ कार्पेन्टरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ ।  औद्योगिक इलेक्ट्रिसियनका लागि कक्षा १० पास भइ इलेक्ट्रिसियन तह १ को प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ ।

त्यस्तै, जोर्डनका गार्मेण्ट कम्पनीहरुमा रोजगारीका अवसरलाई लक्षित गरी महिलाहरुका लागि मात्र गार्मेन्ट मेशिन अपरेटर तालिम सञ्चालन भइरहेको छ ।

१९ देखि ३० वर्षभित्रका, कक्षा ५ भन्दा माथि पढेका, पासपोर्ट बनाएका र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका महिलाले गार्मेन्ट सम्बन्धी तालिम लिन सक्नेछन् । तालिम सकिएपछि एक रुपैयाँ पनि लगानी नगरी जोर्डनमा रोजगारीका लागि जान पाइनेछ ।

तालिममा सहभागी हुन कसैलाई कुनै पनि शीर्षकमा शुल्क तिर्नु नपर्ने सामीले जनाएको छ । तालिम अवधिमा परिवार व्यवस्थापन, आम्दानीको व्यवस्थापन, नयाँ ठाउँमा घुलमिल हुने, स्वास्थ्य, सुरक्षा आदि विषयमा पनि जानकारी दिइने सीप विकास संयोजक सुनिला बानियाँले बताउनुभयो ।

तालिममा सहभागी हुनेलाई तालिम अवधिभर खाने र बस्ने सुविधा समेत निःशुल्क दिइन्छ । 

तालिममा सहभागी हुन इच्छुकले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मोवाइल नम्बर ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गरेर थप जानकारी लिन सकिन्छ । तिहारलगत्तै सीप तालिम कक्षा सञ्चालन हुने पनि सामीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया