विधानसभा चुनाव : हरियाणामा बीजेपीलाई झट्का, महाराष्ट्रमा सिट घट्यो

 कात्तिक ७, २०७६ बिहिबार १७:३५:१२ | एजेन्सी
unn.prixa.net

भारतको महाराष्ट्र र हरियाणा राज्यमा भएको विधानसभा चुनावको नतिजा आउने क्रम जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार महाराष्ट्रमा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले सरकार बनाउने पक्का भएको छ भने हरियाणामा भने त्रिशंकु सरकार बन्ने सम्भावना रहेको छ ।

२८८ सिट रहेको महराष्ट्रमा भारतीय जनता पार्टी(बीजेपी)ले ३७ सिटमा जित हासिल गरेको छ भने ६४ सिटमा अग्रता बनाएको छ । त्यस्तै बीजेपीको गठबन्धनमा रहेको शिव सेनाले २९ ठाउँमा जित हात पार्दा २८ ठाउँमा अग्रता बनाएको छ । त्यस्तै नेसनलस्टि कांग्रेस पार्टीले २० ठाउँमा जित हात पार्दा ३४ ठाउँमा अग्रता बनाएको छ । त्यस्तै भारतीय कांग्रेस भने २० सिटमा जित हात पार्दै २५ सिटमा अग्रता बनाएको छ ।

महाराष्ट्रमा सरकार बनाउन १४५ सिट आवश्यक पर्दछ । महाराष्ट्रमा बीजेपी र शिव सेनाले सरकार बनाउन सक्ने देखिएको छ ।  सन् २०१४ को विधानसभा चुनावमा बीजेपी एक्लैले १२२ सिटमा जित हात पारेको थियो भने शिव सेनाले ६३ सिटमा जित हात पारेको थियो । कांग्रेसले भने ४२ सिटमा जित हात पारेको थियो ।

त्यस्तै ९० सिट रहेको हरियाणा विधानसभामा बीजेपी केही सिटले मात्रै सरकार बनाउन चुक्ने भएको छ । बीजेपीले २२ सिटमा जित हात पारिसकेको छ भने १८ सिटमा अगाडि रहेको छ । त्यस्तै कांग्रेस १८ सिटमा जित हात पार्दा १३ सिटमा अगाडि रहेको छ । सन् २०१४ को चुनावमा कांग्रेसले मात्रै १५ सिट जितेको थियो भने बीजेपीले ४७ सिटमा जित हात पारेको थियो ।

त्यस्तै जननायक जनता पार्टीले ९ सिट जितेको छ भने एक सिटमा अगाडि रहेको छ । अन्य दल भने ९ सिटमा अगाडि रहेका छन् । हरियाणामा सरकार बनाउन ४६ सिट आवश्यक पर्दछ । यस्तो अवस्थामा हरियाणामा कुनै पनि पार्टीले बहुमत हासिल नगर्ने देखिएकाले साना दलको समथर्न जुटाउन सक्ने पार्टीले नै सरकार बनाउने सम्भावना रहेको छ ।

अक्टोबर २१ मा महाराष्ट्र तथा हरियाणामा विधानसभा चुनाव भएको थियो । यसका अलावा दुई लोकसभा क्षेत्र र विभिन्न राज्यका ५१ वटा विधानसभा क्षेत्रमा उपचुनाव पनि भएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया