भारतबाट अब खाना पकाउने ग्यास पनि पाइपलाइनबाट आउने: निर्माण कार्यकाे शिलान्यास

 कात्तिक ९, २०७६ शनिबार १६:८:३० | जयनारायण यादव
unn.prixa.net

बारा - वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शनिबार भारतबाट खाना पकाउने एलपी ग्यास ल्याउने पापलाइन निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।

बाराको अमलेखगञ्जसम्म इन्धन ल्याउन सफल भएको नेपाल आयल निगमले अब खाना पकाउने एलपी ग्यास पनि पाइपलाइन मार्फत नै ल्याउने भएको हाे । अमलेखगञ्जमा रहेकाे नेपाल आयल निगमको प्रादेशिक कार्यालय अगाडि पिलर(स्तम्भ )गाडेर मन्त्री यादवले एलपी ग्यास तथा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म इन्धन र खाना पकाउने ग्यास पाइपलाइन मार्फत लैजाने कार्यको शिलान्यास गर्नु भएको हो।

सर्भे कार्य सकेर पाइपलाइन ओछयाउने बाटोमा शनिबारदेखि स्तम्भ गाड्ने कार्यको सुरुवात भएको अमलेखगञ्ज प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले बताउनु भयो। अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाँच अर्ब ६७ करोडको लागतमा पाइपलाइन निर्माणको कार्य सम्पन्न हुने निगमले जनाएको छ।

पाइपलाइन मार्फत दुइ सय ९० किलोलिटर प्रतिघन्टाको रफ्तारमा इन्धन प्रवाह हुने बताइएकाे छ । त्यसैगरी लोथरमा झण्डै चार अर्ब १९ करोड रुपैयाँको लागतमा भण्डार केन्द्र स्थापना गरिने निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्याँसका लागि भारतको रक्सौल सिमानादेखि चितवनको लोथरसम्म पाइपलाइन ओछयाउन झण्डै एघार अर्ब १९ करोड रुपैयाँ लाग्ने आयल निगम अमलेखगञ्जका प्रमुख यादवले बताउनु भयो।

पाइपलाइन मार्फत झण्डै एक सय टन प्रतिघन्टाको रफ्तारमा एलपी ग्यास भारतबाट आउने छ । लोथरमा निर्माण हुने भण्डारण केन्द्रको क्षमता २० हजार मेट्रिक टन रहने निगमले जनाएको छ ।

नेपाल आयल निगम अमलेखगञ्जका प्रमुख यादवका अनुसार एलपी ग्यासका लागि पाइपलाइन ओछयाउने काम भारतको मोतिहारीदेखि रक्सौलसम्म भारतीय लगानीमा हुने छ भने नेपाल तर्फ नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा हुनेछ। पहिलो चरणमा पिलर(स्तम्भ) गाड्ने काम गरिने र त्यसपछि पाइप ओछयाउने काम गरिने यादवले बताउनु भयो।

अन्तिम अपडेट: चैत ७, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया