ओखलढुंगा–रामपुर सडक कालोपत्रे गर्ने काम सुस्त: चाडबाड र वर्षा बाधक

 कात्तिक १०, २०७६ आइतबार ७:४:४६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – सदरमुकाम ओखलढुंगालाई पश्चिमी भेगसँग जोड्ने एक मात्र ओखलढुंगा–रामपुर–लप्सेखोला सडक कालोपत्रेको काम सुस्त छ । शुरुमा ठेकेदारले काम तीव्र गतिमा गरे पनि चाडबाड र वर्षाको कारण देखाएर रोकिएको काम सुरु भएको छैन । 

सडक फराकिलो पार्न खनिएको माटो ढुंगा सडकमै छोडेपछि ओखलढुंगा–रामपुर गाडी चलाउन समस्या भएको छ ।  हिलोका कारण साना सवारी आवत जावत गनै नसक्ने भएको स्थानीयकाे भनाइ छ । ठेकेदारले काम जथाभावी गरेर छाडेपछि सडकमा साना गाडी चलाउनै नसकिने अवस्था आएको स्थानीय सञ्जय खत्रीले बताउनुभयो । ‘अहिले काम रोकिएको छ, हिलो खाल्डाखुल्डीले मोटरसाइकल त चलाउनै सकिँदैन, सरोकारवाला निकाय मौन छन्’, उहाँले भन्नुभयो । 

याे सडकमा नेपाल सरकारकाे भूकम्प आपतकालीन परियोजना अन्तरगत कालोपत्रेको काम सुरु भएको हाे । यो परियोजना अन्तरगत सिद्धिचरण नगरपालिकाबाट मोलुङ गाउँपालिका वडा नम्बर-२, रामपुरसम्म कालोपत्रे र रामपुरदेखि हर्कपुरको लप्सेसम्म ग्राभेलिङ गर्नेगरी गएकाे वर्ष नै ठेक्का लागेर काम सुरु भएको थियो ।

चाडबाड तथा झरीका कारण काम रोकिए पनि अब तिहारपछि लगत्तै धमाधम काम सुरु हुने निर्माण कम्पनीको दावी छ ।

सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाबाट गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको छ । पहिलो चरणमा सडक चौडा पार्ने काम सकिएको इन्जिनियर सरोज केसीले बताउनुभयो । नेपाल सरकारको आफ्नै परियोजना भएकाले प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा भने नपाउने भएका छन् ।

यो सडकको रामपुरसम्म १६ किलोमिटर कालोपत्रे हुने छ भने सडकको चौडाइ ६ दशमलव २५ मिटर हुनेछ । 

अर्को खण्ड रामपुर लप्सेखोलासम्म ७ दशमलव ६२ किलोमिटर भने ग्राभेल गरिनेछ । २०७५ असारमा सम्झौता भएको सडक सम्पन्न गर्ने अवधि ५ सय ४०  दिन अर्थात् १८ महिना हो । भ्याटसहित सम्झौता रकम २९ करोड ९९ लाख ६० हजार रुपैयाँ छ । 

चालु अवस्थामा रहेको सडकको बीचबाट दायाँबाँया ५/५ मिटरसम्म स्थानीयको जग्गा उपयोग गर्नेछ । यस बापत् स्थानीयले घर जग्गा नै परे पनि कुनै क्षतिपूर्ति पाउने छैनन् । यस्तै अर्को सडकमा मुआब्जा दिए पनि यो सडकमा मुआब्जा नदिइने भए पछि स्थानीय भने आक्रोशित छन् । 

यो सडक कालोपत्रे भएपछि ओखलढुंगाको पश्चिमी क्षेत्र चम्पादेवी, लिखु लगायतका स्थानीयलाई सदरमुकाम आवतजावत गर्न थप सजिलाे हुनेछ । यसले साँघुटार–घोराखोरी–ओखलढुंगा सडकलाई समेत जोड्ने भएकाले चासोका साथ हेरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया