बग्दादी मारिएको ट्रम्पद्वारा पुष्टि : ‘अमेरिकी कुकुरले लखेट्दा चिच्याइ चिच्याइ रोइरहेको थियो’

 कात्तिक १०, २०७६ आइतबार २०:१६:१२ | एजेन्सी
unn.prixa.net

अमेरिकाले इस्लामिक स्टेट (आईएस)का सर्वोच्च नेता अबु बाकर अल–बग्दादी अमेरिकी सेनाको हवाई कारबाहीमा मारिएको अमेरिकाले दाबी गरेको छ ।

विश्वमै सर्वाधिक खोजीका व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

सुरुमा ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै बग्दादी मारिएको खबर एपीमा आएको केही घण्टापछि राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरी बग्दादी मारिएको औपचारिक घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमा ट्रम्पले बग्दादी विश्वकै ठूला आतंकवादी रहेको र उनको अन्त्य गर्नु आफ्नो प्रशासनको मुख्य राष्ट्रिय सुरक्षा प्राथमिकतामा रहेको बताए । 

राष्ट्रपति ट्रम्पले कारबाहीमा अमेरिकी सेनातर्फ केही क्षति नभएको पनि बताए । उनले अमेरिकी सेनालाई संवेदनशील जानकारी पनि प्राप्त भएको बताए । ट्रम्पले भने, ‘अबु बाकर अल बग्दादीको मृत्यु भैसकेको छ । यो विश्वकै सबैभन्दा हिंस्रक तथा क्रुर संगठन हो । अमेरिकाले धेरै वर्षदेखि बग्दादीको खोजी गरिरहेको थियो ।’

ट्रम्पले ह्वाइटहाउस संवाददाताहरुसँग भने, ‘शनिबार स्पेसल फोर्सको कारबाहीपछि बग्दादीले आत्मघाटी ज्याकेटको सहयोगमा आफैलाई उडाए ।’

‘लगातार रोइरहेको थियो बग्दादी’

आइतबार बिहान नौ बजे गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘म बग्दादी मारिएको घटनाको पुष्टि गर्छु ।’ ट्रम्प भन्छन्, ‘अमेरिकी कुकुरले बग्दादीलाई खुब लखेटे, उ लगातार रोइरहेको थियो, चित्कार गरिरहेको थियो । चिच्याइरहेको थियो ।’

उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भए लगत्तै इस्लामिक स्टेटको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको छ । कुनै समय इराक र सिरिया समेतको ठूलो भूभागमा कब्जा जमाउन सफल इस्लामिक स्टेटले पछिल्लो समय कमजोर हुँदै गइरहेको छ ।

अल–बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए । कतिपयले उनको मृत्यु भइसकेको दाबी गरिरहेका थिए । यो संगठनका समर्थकहरुले युरोप र अमेरिकी भूभागमा आतंकवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेटले पछिल्लो समय विमान अपहरण जस्ता ठूला आक्रमणको साटो साना स्तरका आक्रमणहरु गरेर जनजीवन त्रसित बनाउने गरेका थिए ।

अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ) तोकेको थियो । पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकूलाई आफू र आफ्ना परिवारका सदस्यलाई बन्दी जीवनबाट मुक्त गर्न अपिल गरेका थिए । यो उनको गत अप्रिल यताको पहिलो थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया