दीपावलीका क्रममा मोरङका तीन ठाउँमा आगलागी: एक बालकको ज्यान गयाे

 कात्तिक ११, २०७६ सोमबार ९:१९:१६ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ - दीपावलीको साँझ मोरङका विभिन्न स्थानमा भएको आगलागीमा एक जनाको ज्यान गएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर-५, कोठेबारीका युवराज गिरीको घरमा आइतबार राति आगलागी  हुँदा उहाँका ४ वर्षीय छाेरा युसन गिरीको ज्यान गएको हो । दीपावली गर्ने क्रममा आगलागी हुँदा घरभित्र सुतिरहेका युसनकाे जलेर ज्यान गएको हो । आगलागीबाट ६० हजार नगद, सुन, चाँदी, लत्ता कपडासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै विराटनगरमा आगलागी हुँदा एउटा कार जलेको छ । आइतबार साँझ दीपावली गर्ने क्रममा विराटनगर-१० मा रहेको नेशनल एकेडेमी कलेज नजिकै रोकेर राखिएको को १ च ९२६२ नम्बरको कारमा आगो लागेको हो । तिहारको बेला मैनबत्ती बाल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट कार पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यसैगरी, मोरङको केराबारी गाउँपालिका वडा नम्बर-८, आमजुङ्गेमा दीपावली गर्ने क्रममा स्थानीय उमेश बस्नेतको घरमा आगलागी हुँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया