पपुवा न्यू गिनी र आयरल्याण्ड टी-२० विश्वकपमा छनोट

 कात्तिक ११, २०७६ सोमबार १८:७:५४ | एजेन्सी
unn.prixa.net

पपुवा न्यू गिनी र आयरल्याण्ड आउँदो वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटमा छनोट भएका छन् ।

आइतबार भएको खेलमा पपुवा न्यू गिनीले १९ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । तर उसले केन्यामाथि रोमाञ्चक जित हात पार्यो । आठौँ नम्बरका ब्याट्सम्यान नर्मन वानुआको ५४ रनको सहयोगमा पपुवा न्यू गिनीले १९ ओभर ३ बलमा ११८ रन जोड्न सफल भयो । ११९ रनको सहज लक्ष्य पछ्याएको केन्या १८ ओभर ४ बलमा ७३ रन बनाउँदै अलआउट भयो ।

यो जितसँगै पपुवा न्यू गिनी विश्वकपमा छनोट भयो । यदि नेदरल्याण्ड्सले स्कटल्याण्डलाई १२ ओभर ३ बलमा हराएको भए समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकप प्रतियोगितामा प्रवेश गर्थ्यो । नेदरल्याण्ड्सले स्कटल्याण्डमाथि १७ ओभरमा चार विकेटले जित हात पार्यो ।

समूह ए मा रहेका पपुवा न्यू गिनीको समान १०–१० अंक भए पनि रनरेटका आधारमा अगाडि रहँदै पपुवा न्यू गिनीले पहिलो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको हो । समूह ‘ए’ को दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्ससहित नामिबिया र स्कटल्याण्डले भने प्ले अफमा स्थान बनाएका छन् ।

त्यस्तै समूह बी बाट रनरेटका आधारमा आयरल्याण्ड विश्वकप प्रतियोगिताका लागि छनोट भएको छ । आयरल्याण्ड, यूएई र ओमानको समान ८–८ अंक भए पनि रनरेटका आधारमा अगाडि रहँदै विश्वकपका लागि प्रवेश गरेको हो । यूएईले आफ्नो अन्तिम खेलमा क्यानडालाई १४ रनले हराए पनि उ तेस्रो स्थानमा रहन पुग्यो  ।

समूह ‘बी’ को दोस्रो स्थानमा रहेको ओमानसहित यूएई र हङकङले भने प्ले अफमा स्थान बनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया