पर्यटकीय गन्तव्य बन्दै ‘मुन्धुम ट्रेल’

 कात्तिक २३, २०७६ शनिबार १९:३९:५१ | बुद्ध तामाङ
unn.prixa.net

एक सय पर्यटकीय गन्तव्यमध्येको एक टेम्केडाँडा ‘मुन्धुम ट्रेल’ यतिबला आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बनेको छ । यो क्षेत्र मनोरम दृश्यावलोकन र ट्रेकिङका लागि उपयुक्त भएका कारण पनि पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो ।

टेम्केमैयुङ, साल्पासिलिछो गाउँपालिका, ‘मैयुङडाँडा र हाँसपोखरी’ को पर्यटकीय सम्भाव्यतालाई मध्यनजर गर्दै ‘मुन्धुम ट्रेल’को अवधारणा विकास गरिएको छ । 

धार्मिक, साँस्कतिक र विविध जातीय महत्व बोक्ने मुन्धुम ट्रेललाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेपछि पर्यटकहरुको आगमनमा वृद्धि भएको टेम्केमैयुङ गाउँपालिका नागीका स्थानीय नराराज काङ्गमाङ्गले बताउनुभयो ।

काङ्गमाङ्ग भन्नुहुन्छ, ‘पहिले विदेशी पर्यटकहरु यस क्षेत्रमा देखिँदैनथे, तर अहिले आएर बाह्य र आन्तरिक पर्यटकहरु आउनेको संख्या बढ्न थालेको छ, अहिले आएर हाम्रो पनि पर्यटकीय सम्भावना छ है भन्ने प्रमाण सरकारले देखाइदिएको छ, जिल्लाबासीका लागि यो खुशीको खबर हो ।’

किँराती संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले पदमार्गको अवधारणा ल्याइएको थियो । पदमार्ग क्षेत्रमा किँरात राईहरुको बस्ती, भेषभुषा, संस्कृति र यहाँका संस्कार भएकोले  गर्दा  पदमार्गको नामाकरण किँरात राईहरुको ‘मुन्धुम’ संस्कारबाट ल्याइएको खर्कगोठ संरक्षण विकास तदर्थ समितिका अध्यक्ष पावीहाङ राईले बताउनुभयो ।

भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा विकास गर्न २०७४ साल पुष २४ देखि २६ गतेसम्म ३१ दशमलव ५ किलोमिटर लामो त्यस पदमार्गको सर्वेक्षण गरिएको थियो । टेम्केमैयुङ गाउँपालिकाले पनि पदमार्गको अनुगमन र सम्पूर्ण सम्भाव्यताको अध्ययन अन्वेषणका लागि आर्थिक वर्ष ०७४/७५ मा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ को चखेवा मेरुङ मैयुङ पर्यटकीय पदमार्ग भौतिक पूर्वाधार निर्माण शीर्षक योजनामा  पदमार्गका लागि १९ लाख ४० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

पर्यटकीय हिसाबले पैदल यात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग आगन्तुक पर्यटकका लागि लेक लाग्ने समस्या नहुने गत वर्षको स्थलगत अध्ययनले देखाएको छ ।

टेम्केडाँडा (मुन्धुम पदमार्ग) समुन्द्री सतहबाट २४ सय मिटरदेखि ३३ सय मिटरको दूरीमा उकालो ओरालो हुँदै फैलिएकाले पर्यटकलाई डाँडैडाँडाको यात्राबाट चारपाटे, मेरा पिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्नेछन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया