बोलिभियाका लोकप्रिय राष्ट्रपति मोरालेसले राजीनामापछि किन लिए मेक्सिकोमा शरण ?

 कात्तिक २७, २०७६ बुधबार १३:१:३६ | एजेन्सी
unn.prixa.net

बोलिभियाका राष्ट्रपति इवो मोरालेसले राजीनामा दिएसँगै छिमेकी देश मेक्सिकोमा शरण लिएका छन् ।

चुनावमा धाँधली गरेको आरोप र ठूलो विरोध प्रदर्शनपछि गएको आइतबार मोरालेसले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । एउटा ट्वीट गर्दै उनले बोलिभिया छाड्दा आफूलाई निकै दुःख लागेको र आफू ‘शक्ति र ऊर्जा’ का साथ फर्कने बताएका छन् ।

मेक्सिकोका विदेश मन्त्री मार्सेलो एबरार्डले मोरालेस मेक्सिको सरकारको एउटा विमानमा बोलिभियाबाट मेक्सिको आएको पुष्टि गरेका छन् । मेक्सिकोको वामपन्थी सरकारले मोरालेसको समर्थन गरेको थियो ।

एबरार्डले बोलिभियामा मोरालेसको राजीनामापछि सेनाले हस्तक्षेप गरेको भन्दै ‘कु’ को संज्ञा दिएका थिए । २००६ मा पहिलो पटक राष्ट्रपति बनेका इवो मोरालेस बोलिभियाका लोकप्रिय नेता मानिन्छन् । गरिबीसँग जुध्दै बोलिभियाको अर्थव्यवस्थामा सुधार गरेका कारण उनको प्रशंसा हुने गरेको छ ।

किन छोड्नुपर्‍यो राष्ट्रपति पद ?

अक्टोबरमा भएको चुनावमा चौथो पटक उम्मेदवार भएको भन्दै मोरालेस विवादमा तानिएका थिए । बोलिभियाको संविधानले पनि तेस्रो पटक राष्ट्रपति बन्न अनुमति बन्न दिँदैन । तर मोरालेसले २००६ देखि २००९ सम्मको कार्यकाललाई गन्दैनन् । यो समय आधुनिक बोलिभियाको संविधान बन्नुभन्दा अघि भएको भन्दै मोरालेसले यसलाई नगनेका हुन् । तर उनी २००९ र २०१४ मा फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

यस पटक भएको चुनावमा व्यापक धाँधली भएको समाचार पनि आएका थिए । राष्ट्रपति चुनावमा प्राप्त जितपछि मोरालेसमाथि लगतार दबाब बढेको थियो । आइतबार अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्सले अक्टोबरमा भएको चुनावमा धाँधली भएको भन्दै चुनावी परिणाम रद्द गर्न आह्वान गरेको थियो ।

यसको जवाफमा मोरालेस नयाँ चुनाव गराउन सहमत देखिए पनि उनका मुख्य प्रतिद्वन्द्वी कार्लोस मेसाले मोरालेसले कुनै पनि चुनावमा उम्मेदवार बन्न नपाउने कुरामा जोड दिएका थिए । लगत्तै सेना प्रमुख जनरल विलियम्स कलिमनले हुस्तक्षेप गर्दै मोरालेसलाई राजीनामा दिन अपिल गरेका थिए ।

आफ्नो राजीनामाको घोषणा गर्दै मोरालेसले आफ्नो निष्कासनलाई एक प्रकारको ‘कु’ को संज्ञा दिएका थिए । आफूले आफ्ना अन्य समाजवादी नेता तथा साथीहरुलाई नसताइयोस् र नधम्काइयोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका थिए ।

मोरालेसको राजीनामापछि उनका विरोधी भने राष्ट्रिय झण्डाका साथ खुशियाली मनाइरहेका छन् । त्यस्तै उनको राजीनामाको विरोधमा अर्जेन्टिनामा समेत प्रदर्शन भएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया