सरकारी जागिर छोडेर भैँसीपालन : वार्षिक १० लाख आम्दानी !

 मंसिर ७, २०७६ शनिबार ८:४६:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – सरर... मोटरसाइकल । मोटरसाइकल चढेर गएका एक जना अधबैँसे व्यक्ति जुम्ला खलङ्गा बजारको भारतीबाडाको सडकमा रोकिनु हुन्छ ।  

बिहान झिसमिसेमा पानी र हिलोमा लगाउने बुट, सेतो ट्रयाकसुट र कालो बाक्लो ज्याकेट, पिठ्युँमा ठूलै झोला, झोलाभित्र भरिएका दूधको गेलान तथा बोत्तलहरु छन् । ती व्यक्तिको मोटरसाइकलको वरिपरि पनि दूधले भरिभराउ बोतलहरु हुन्छन् । एकै छिनमा मोटरसाइकलबाट उहाँ झर्नुहुन्छ र झोलाबाट दूध निकाल्नु हुन्छ । 

एकाबिहानै जुम्ला गुठीचौर गाउँपालिका-५ धिताल गाउँनिवासी विष्णु धिताल ३० देखि ४० लिटर दूध बोकेर जुम्ला सदरमुकाम हानिनु हुन्छ । गाउँबाट बिहान ५ बजे मोटरसाइकलमा दूध बोकेर जुम्ला बजारमा बेच्न निस्कनु उहाँको दैनिकी हो ।  

धितालको घरसम्म पुग्न सदरमुकामबाट दुई घण्टा हिँड्नुपर्छ ।  त्यहाँ किसान धितालले जिल्लाकै नमुना ‘अब्बल भैँसीपालन’ व्यवसाय सञ्चालन गरिरहनु भएको छ । एक दशकदेखि सञ्चालन गरेको उहाँको भैँसीपालन व्यवसाय फस्टाउँदै गएको छ । 

विक्रम संवत २०६२ सालमा गरिबी निवारण कार्यक्रमबाट १६ हजार ऋण लिएर भैँसीपालन सुरु गर्नुभएका धितालसँग अहिले झण्डै १२ लाख रुपैयाँ बढीका भैँसी छन् । अहिले उहाँसँग ११ वटा दुहुना भैँसी छन् । ११ वटा भैँसीबाट दैनिक ३० देखि ५० लिटर दूध दिने गरेको धितालले बताउनुभयो ।  

वार्षिक आम्दानी १० लाख रुपैयाँ  

बजारमा अहिले दैनिक ४० लिटरसम्म दूध बिक्री हुने गरेको उहाँको भनाइ छ । प्रतिलिटर दूध एक सय रुपैयाँका दरले डेरीमा बिक्री भैरहेको उहाँले बताउनुभयो । जुम्ला बजारमा दूधको मूल्य भने प्रतिलिटर एक सय २० रुपैयाँ रहेको छ । 

‘दूध बेचेरै  दैनिक पाँच हजार रुपैयाँ आम्दानी हुन्छ तर खर्च छुट्याएर मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म फाइदा हुन्छ’, उहाँले भन्नुभयो । मासिक ८० हजारकै दरले पनि वार्षिक ९ लाख ६० हजार रुपैयाँ आम्दानी हुन्छ । उहाँकाअनुसार गएको वर्ष १४ वटा भैँसी दुहुना थिए ।  

३४ लाख रुपैयाँको लागतमा घर निर्माण 

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकार भेटेनरी अस्पताल तथा पशुसेवा कार्यालयको ५० प्रतिशत सहयोगमा उहाँले भैँसीपालन व्यवसायका लागि घरसहितको पूर्वाधार तयार गर्नुभएको छ । 

३४ लाख आठ हजार दुई सय २६ रुपैयाँको लगानीमध्ये १७ लाख ५५ हजार ३३ रुपैयाँ भेटनरी तथा पशु सेवा कार्यालयले सहयोग तथा आधा आफ्नो लगानीमा धितालले भैँसी बस्ने आधुनिक गोठ, घाँस राख्ने छत, पिसाब संकलन ट्यांकी, पानी ट्यांकी, दूध राख्ने डीपफ्रिज, दाना खुवाउने डेक्ची, घासँ काट्ने मेशिनसहितको पूर्वाधार आफ्नै घरमा बनाउनु भएको छ । 

घरमै यी सबै चीज भएपछि व्यवसाय गर्न सजिलो भएको उहाँले बताउनु भयो । त्यस्तै एक लाख १० हजार रुपैयाँमा उन्नत जातको राँगोसमेत खरिद गरिएको उहाँले भन्नुभयो ।  

भैँसीपालन व्यवसायका क्रममा निकै चुनौती आइपरेको धितालले बताउनु भयो ।  व्यवसायको सुरुवातमा ५ वटा भैँसी मरेपछि ऋणले डुब्नुभएका धितालले फेरि खेत बेचेर व्यवसाय जीवित गरेको धितालले स्मरण गर्नुभयो । 

व्यवसाय गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौल भएको र गाउँका केही अभिावकहरुले हौसला दिएको उहाँले सम्झनु भयो । स्थानीय हरिनन्द धिताल, नवानन्द धिताल र रामप्रसाद न्यौपानेको सहयोगमा फेरि व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । स्थानीय अगुवा रामप्रसाद न्यौपानले ऋणमा डुबेको वेला खेत बेचेर भए पनि फेरि व्यवसाय गर्नुपर्छ भनेको सुझाव अहिले सफल भएको सधिताल स्वीकार्नु हुन्छ ।  

२१ वर्षको उमेरमा वनस्पति कार्यालयमा जागिर थियो तर जागिरभन्दा व्यवसाय नै राम्रो हुने सोचेर उहाँ भैँसीपालनतर्फ आकर्षित हुनुभयो । अहिले नोकरीभन्दा व्यवसाय नै राम्रो भएको उहाँ बताउनु हुन्छ । 

घर परिवारमा सञ्चालन गर्न सजिलो  

भैँसीपालन व्यवसायबाट घर परिवार सञ्चालनमा समेत सजिलो भएको छ भने व्यवसायमा धितालकी पत्नी जानकी धितलालले साथ दिनुभएको छ । भैँसीपालन व्यवसायमा जानकीले पूरै सहयोग गरिरहनु भएको छ । 

त्यही आम्दानीबाट अहिले जेठी छोरी मायादेवी धिताल अमिन विषयको अध्ययन गरिरहनु भएको छ । माइली छोरी सनिता ओभर सियर अध्ययन गरिरहनु भएको छ भने कान्छी छोरी भावना कक्षा १० मा अध्ययन गरिरहनु भएको छ । धितालले यही व्यवसायबाटै सुर्खेतमा यो वर्ष रु २८ लाखको घडेरीसमेत किनेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया