रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरको वास्तविकता
पुस ४, २०८१ बिहिबार
नेपालमा रेल र सुरुङ मार्ग निर्माणको विषय वर्षौँदेखि चर्चामा छ । तर अहिलेसम्म कुनै सुरुङमार्ग र रेल मार्गको काम पूरा हुन सकेको छैन । सितापाइला – नौबिसे सुरुङ मार्गको शिलान्यास भएको छ, तर काठमाण्डौमा मोनो र मेट्राे रेलको लागि भने काम सुरु भएको छैन ।
रेल मार्ग र सुरुङ मार्गको लागि लगानी नभएको भन्दै सरकारी गुनासो त आइरहन्छ नै मोडालिटीको बारेमा पनि उत्तिकै बहस र विवाद आइरहेका हुन्छन् । केही विज्ञले नेपालमा रेल र सुरुङ मार्ग खास आवश्यकता नभएको भन्छन् भने केहीले नेपालजस्तो देशमा रेल र सुरुङ मार्ग नभइ नहुने जिद्दी गर्छन् ।
नेपालको सडक यातायात र रेलको विषयका बहसमा आशिष गजुरेलको नाम पनि आइरहन्छ ।
गजुरेलले विशेषगरी शहरी क्षेत्रको यातायात पूर्वाधार कस्तो हुनुपर्छ भनेर धेरै अन्तर्राष्ट्रिय मञ्चमा पनि सहभागिता जनाइसक्नुभएको छ । गजुरेलले जर्मनको टेक्निकल युनिभर्सिटीबाट यातायात इञ्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । नेपालमा सुरुङ मार्ग र रेलको विषयमा अर्जुन पोख्रेलले शहरी यातायात पूर्वाधार विज्ञ आशिष गजुरेलसँग कुराकानी गर्नुभएको छ ।
नेपालमा लामो समयदेखि बहस हुँदै आए पनि अहिले बल्ल सुरुङ मार्गको निर्माण सुरु भएको छ । खासमा सुरुङ कस्तो अवस्था र कस्तो भौगोलिक बनावटमा निर्माण गरिन्छ ?
अहिले सितापाइला–नौबिसे सुरुङ मार्गको निर्माण सुरु भएको छ । यो हामीहरुको लागि निकै खुशीको कुरा हो । वर्षौँसम्म नौबिसेदेखि नागढुंगासम्म हुँदै आएको कष्टकर यात्रालाई यसले केही सहज बनाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ । सुरुङ दुई अवस्थामा निर्माण गरिन्छ । एउटा उकालो ओरालो गर्न नपरोस् भनेर पहाडभित्रबाट सडक बनाउने सुरुङ हुन्छ, अर्को शहरी क्षेत्रमा जमिनमुनि सुरुङ बनाएर मेट्रो रेल र अन्य यातायातका साधन चलाउनको लागि ।
नेपालमा अहिले तत्कालको लागि सहरी क्षेत्रमा जमिनमुनि मार्ग बनाएर यातायातका साधन चलाउन खास योजना भने बनेका छैनन् ।
नेपालजस्तो पहाडी भेग धेरै भएको देशमा पहाडमुनि धेरै सुरुङ हुनुपर्ने हो, तर अहिलेसम्म त्यस्तो हुन सकेन । पहाडमा धेरै घुमाउरो बाटो हुँदा बाटो बनाउन लागत धेरै पर्छ, पहिरोको जोखिम उत्तिकै हुन्छ, सवारीसाधन छिटो बिग्रने अनि इन्धन धेरै खर्च हुने हुन्छ । त्यसैले नेपाल जस्तो पहाडी भूबनोट भएको देशमा सुरुङ निकै आवश्यक छ ।
भनेपछि नेपालमा सुरुङको निकै जरुरी छ ?
हो, नेपालमा सुरुङ मार्ग एकदमै जरुरी छ । हामीले बल्ल सुरुङ निर्माणलाई तीव्रता दिने भनेका छौँ । तर हामीले पहाडमा धेरै सडक निर्माण गर्दा पहिले नै यो सोच्नुपथ्र्यो । हामीले पहाडमा बर्सेनि पहिरो सोहोर्दै गाडी चलायौँ, एउटा पहाडबाट अर्को पहाड जान दर्जनौँ घुम्ती भएका सडक बनायौँ । तर सुरुङ बनाउनपर्छ भन्ने बुद्धि भएन या भएर पनि बेवास्ता गरियो । त्यसैको नतिजा स्वरुप अहिले हरेक पहाडमा निकै घुमाउरा सडक छन् ।
सडक भनेको नागरिकको लागि हो, सुरुङ मात्रै बनायो भने गाउँ गाउँमा चाहिँ कसरी सञ्जाल पुर्याउन सकिन्छ त ?
मैले सानातिना हरेक सडकमा सुरुङ बनाउनुपथ्र्यो भनेको होइन । अहिले हामीले राष्ट्रिय राजमार्ग भन्ने गरेका सडकको हालत हेर्नुहोस् त । उदाहरणको लागि बर्दघाटबाट दुम्कीबाससम्म सुरुङ बनाइदिएको भए दाउन्नेको त्यो उकालो किन हिँड्नुपथ्र्यो त । सिन्धुलीमा त्यस्तै समस्या छ, सिद्धबाबामा समस्या छ, पूर्वी र पश्चिमी पहाडका हरेक राजमार्गमा समस्या छ ।
कम्तीमा अप्ठेरो भिर भएको र धेरै उकालो ओरालो भएको ठाउँमा सुरुङ बनाइएको भए अहिले यति धेरै दुर्घटना पनि हुने थिएनन्, अनि खर्च पनि धेरै हुने थिएन । सडकको लम्बाइ कम हुने भएकाले नागरिकको समयको पनि बचत हुने थियो ।
सुरुङ मार्ग बनाउन त लगानी पनि धेरै चाहिने रहेछ, लगानीको समस्या थियो होला नि त ?
सुरुमा लागत महँगो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहाडका घुमाउरो बाटोको लगानी, बर्सेनि गरिने मर्मत, नागरिकको समयको बर्बादलगायतका विषय हेर्ने हो भने सुरुङ सस्तो हुन आउँछ । पहाडका सडकको सञ्चालन खर्च हेर्नुहोस् त, कति धेरै छ ।
सितापाइला–नौबिसेको झण्डै २ किलोमिटर लामो सुरुङ मार्ग बनाउन २२ अर्ब रुपैयाँ लाग्ने भएको छ । जे भए पनि यो महँगो नै रहेछ नि, होइन र ?
मैले भनिहालेँ, राज्यले विकासको लागि ५०/६० अर्ब, १ खर्ब रुपैयाँ पनि खर्च गर्न नसक्ने भन्ने त कुरै आउँदैन नि । हामीसँग अनुभव नभएर मात्रै अहिलेसम्म सुरुङ मार्गमा लगानी गएन । अब यो सितापाइला–नौबिसे सुरुङपछि कति धेरै सुरुङ मार्ग आउँछन् हेर्दै जानुहोला । आखिर अहिले पनि बजेट टालटुलमै सकिएको छ, त्योभन्दा त ठूला ठूला आयोजनामा रकम खर्च गरेमा दिगोरुपमा प्रतिफल आउँछ नि ।
अहिले पनि भौतिक पूर्वाधार क्षेत्रमा छुट्याएको बजेटमध्ये हरेक वर्ष ३५ प्रतिशतको हाराहारीमा बजेट खर्च नै भएको हुँदैन । फ्रीज भएर जाने पैसा एउटा आयोजनामा लगानी गरियो भने त त्यसले फाइदा नै गर्छ ।
२/३ किलोमिटर लामो सुरुङ मार्ग नहुँदा देशका दर्जनौँ पहाडमा कष्टपूर्ण यात्रा गर्नुपर्छ । हरेक वर्ष सरकारले ४०/५० अर्ब रुपैयाँ छुट्याउने हो भने त २÷३ वर्षमा कति धेरै सुरुङ बनिसक्छन् ।
सुरुङका यति धेरै फाइदा रहेछन्, सरकारमा भएकाहरुले किन ध्यान नदिएका होलान् त ?
कुनै पनि नयाँ विषयमा हात हाल्नै डराउने हामी नेपालीको बानी हो । अरु प्रयोजनको लागि सानातिना सुरुङको प्रयोग भए पनि सडक सञ्जालकै लागि खासै सुरुङको निर्माण भएन । यदि कतैबाट सुरुङ निर्माणको सुरु भएको भए अनि त्यो सुरुङले दिएको सुख र सुविधा हेरेको भए शासकहरुले पहिले नै सुरुङ बनाउँथे होला । तर सुरुङ नै बनेनन्, नबनेपछि सुरुवात गर्न पनि कसैले चाहेनन् । त्यही कारणले पनि हामी पछि पर्यौँ । केही व्यक्तिले हाउगुजी देखाए अनि सरकार लगानी गर्न डरायो ।
अनि अर्को कुरा लगानी गर्न डरायौैँ भने ठूला ठूला विकास कहिले गर्ने त । आँट्नुपर्ने विषयमा हामीले आँट नगर्दा हामीले अहिलेसम्म राम्रो विकास गर्न सकेनौँ ।
कुनै पनि कामको सुरुवात भयो भने अर्कोले त्यही काम गर्न गाह्रो छैन, तर हाम्रो नेपालमा सुरु गर्न नै सकस हुने गरेको छ । उदाहरणको लागि जलविद्युत् क्षेत्र हेरौँ । पहिले पहिले नेपालमा जलविद्युत् आयोजना निर्माण गर्नेभन्दा धेरै जना हच्किन्थे, तर अहिले हेर्नुहोस् त, धेरैको आकर्षणको क्षेत्र हो ।
सुरुङ मार्गमा नेपालमा निजी क्षेत्रले पनि खासै चासो देखाएका छैनन् । सुरुङ मार्गको लागि कुन चाँहि मोडल उपयुक्त हुन्छ होला ?
नेपालमा सुरुङ मार्गको लागि निजी क्षेत्रले चासो नदेखाउनु स्वभाविक नै हो । नेपालमा सुरुङ मार्गमा लगानी गरेर निजी क्षेत्रले नाफा कमाउन सक्दैन । सुरुङ मार्ग त सरकारले नागरिकको सुविधाको लागि बनाइदिने हो । कुनै द्रुतमार्ग चाँहि सार्वजनिक निजी साझेदारीको मोडलमा निर्माण गर्न सकिन्छ । नत्र टनेलमा त निजी क्षेत्रभन्दा पनि सरकारले नै लगानी गर्ने हो ।
अब रेलको कुरा गरौँ, अहिले त सडकदेखि सदनसम्म रेलको चर्चा हुन्छ । खासमा हामीलाई रेल कत्तिको आवश्यक हो ?
हामीलाई रेल चाहिएको मात्रै होइन नभइ नहुने अवस्थामा छौँ । देशको अर्थतन्त्र थप चलायमान बनाउन र सहरी क्षेत्रको ट्राफिक व्यवस्थालाई सुढृढ बनाउन रेल नभइ हुन्न । चाहे सामान ओसार्न होस् या मान्छे बोक्न, नेपालमा रेल चाहिएको छ । काठमाण्डौ उपत्यकामा ४ किलोमिटर यात्रा गर्न १ घण्टा जाममा बस्नुपर्छ, गाडी नपाएर यात्रु हैरान हुन्छन्, कोचाकोच र ठेलमठेल सार्वजनिक यातायातको परिचय नै बनिसक्यो । यस्तो अवस्थामा काठमाण्डौमा मेट्रो रेल त झनै आवश्यक हो नि ।
अहिले काठमाण्डौमा बिहान र राति पनि जाम हुन थालेको छ । यो एकदमै खतराको संकेत हो । हामीले अझै २÷४ वर्ष पनि रेल बनाएनौँ र गाडी मात्रै थप्ने हो भने गाडी घरमै थन्काएर हिँड्ने दिन आउन सक्छ । संसारका थोरै मध्येको एक शहर काठमाण्डौ पनि हो, जहाँ ५० लाख जनसंख्या हुँदा एउटा पनि रेल छैन ।
जति बहस भए पनि अहिलेसम्म काठमाण्डौमा एउटा पनि रेल बन्न सकेको छैन, मोनोरेल बनाउने कि मेट्रो भन्ने बहस छ ।
खास मेट्रो र मोनो रेल भनेको कस्तो हो ?
हामीले चढ्ने साधनलाई ट्रेन भनिन्छ, ट्रेन हिँड्ने बाटोलाई रेल भनिन्छ । दुईवटा लिगमा हिँड्ने रेल मेट्रो रेल हो, मोनोरेल भने एउटा मात्रै लिगमा चल्छ । मेट्रो रेल निकै हेभी हुन्छ, अनि यसको क्षमता पनि धेरै हुन्छ । तर मोनोरेल भने हल्का रेलको संरचना हो । मेट्रो रेलले प्रतिघण्टा प्रतिदिशा ८० हजार यात्रु बोक्न सक्छ । तर मोनोरेलले बढीमा १२ हजारसम्म यात्रु प्रतिघण्टा प्रतिदिशा बोक्न सक्छ ।
मोनोरेलमा धेरै समस्या देखिएको छ । सानो समस्या देखिए पनि पूरै सिस्टम रोकेर बनाउनुपर्छ । संरचना निकै संवेदनशील हुन्छ । मेट्रोमा अलि सहज हुन्छ । किनकि संसारका एक सयभन्दा धेरै देशमा मेट्रो रेल चलिरहेको छ ।
तपाईँले अलिकति संकेत त दिनुभयो, मोनोरेल या मेट्रो रेल भनेर विवाद सुरु भैसकेको छ । काठमाण्डौमा चाहिएको कुन रेल हो ?
विवाद र बहस भैरहेका छन् । बहसले नै समाधान दिने हो । तर केही बहस अलि नचाहिँदा पनि छन् । मैले अघि नै भनिसके संसारको उच्चतम प्रविधि प्रयोग भैरहेको, एक सयभन्दा धेरै देशमा चलिरहेको, अनि लगानी केही महँगो भए पनि यात्रु क्षमता निकै धेरै भएको मेट्रो रेल नै हो । ५० लाख जनसंख्या भएको शहरमा प्रतिघण्टा १२ हजार यात्रु बोक्ने रेल ठिक कि ८० हजार यात्रु बोक्ने रेल ठिक ?
मोनोरेल आमनागरिक बोक्न प्रयोग भएको खासै उदाहरण छैनन् । विश्वविद्यालयको एउटा भवनबाट अर्कोमा जान, होटलको एउटा भवनबाट अर्कोमा जान अनि पार्कहरुमा प्रयोग हुन्छन् । सबैभन्दा धेरै मोनोरेल एसियामै छन् । सबैभन्दा लामो जापानमा ३० किलोटिर लामो मोनोरेल छ, प्रभावकारी छैन । जर्मनीमा पनि मोनोरेल विस्तार हुन सकेन, मुम्बईमा पनि चल्दै/बन्द हुँदै गरेको छ ।
संसारभरिबाट मोनोरेल विस्तापित हुँदै गएको छ, त्यही रेल काठमाण्डौमा चलाउने हो भने त हामीलाई सुविधा होइन उल्टो सास्ती हुन्छ ।
काठमाण्डौका धेरै भाग भौतिक संरचनाले ढाकिसके, यस्तो अवस्थामा काठमाण्डौमा निर्माणको हिसाबले मेट्रोभन्दा मोनोरेल नै उपयुक्त छ भन्ने तर्क पनि छ नि ?
मोनोरेल बनाउँदा सबैजसो पूल बनाएर त्यसैमा चलाउने हो । तर मेट्रो त अण्डरग्राउण्ड बनाउन पनि सकियो, जमिनमाथि बनाउन पनि सकियो अनि पूल बनाएर पनि चलाउन सकियो । विकल्प त मोनोमाभन्दा मेट्रोमा धेरै देखियो । खर्च अलि धेरै लाग्ला तर यातायातको दीर्घकालीन समाधान खोज्ने हो भने मेट्रो रेल नै हो ।
मेरो भनाइ काठमाण्डौमा खर्ब रुपैयाँ खर्च गरेर मोनोरेल बनाउने अनि त्यही मोनोरेल भोलि घाँडो हुने र सञ्चालन खर्च उठाउन नसकेर डुब्ने दिन नआओस् ।
लगानीको कुरा गर्दा मोनोरेल र मेट्रो रेल प्रतिकिलोमिटर कति लगानीमा निर्माण हुन सक्ला ?
मैले अघि नै भनिसकेँ मोनोरेलको तुलनामा मेट्रो रेल महँगो हुन्छ । किनकि यसको क्षमता धेरै हुन्छ र यसको मर्मत प्रक्रिया सहज हुन्छ, सजिलो हुन्छ । मेट्रो रेल दुईतर्फी प्रतिकिलोमिटर निर्माण गर्न १० अर्ब रुपैयाँभन्दा धेरै पर्छ । सन् २०१२ मा भएको सम्भाव्यता अध्ययनले सरदर प्रतिकिलोमिटर ७ अर्ब रुपैयाँ लाग्ने देखाएको थियो । तर अहिले त्यो बढेर १० अर्ब रुपैयाँ पुगेको छ ।
रेल बनाउन प्रतिकिलोमिटर एक/डेढ अर्ब मात्रै लाग्छ, हाम्रो पूर्व–पश्चिम रेल मार्गमा पनि त्यस्तै पर्छ । तर मेट्रो रेलको त सिस्टम नै महँगो हुन्छ, ठाउँठाउँमा यसका स्टेशनहरु बनाउनुपर्यो, पुल बनाउनुपर्यो त्यसैले महँगो हुन्छ ।
तर मेट्रो रेलको तुलनामा मोनो रेल केही सस्तोमा बन्न सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
Prashant Raj Pandey
Nov. 25, 2019, 6:21 a.m.पूर्वाधार बनाउंदा सामाजिक मूल्य र फाइदाको ( social cost-benefit) विश्लेषण गर्नु अनिवार्य हुन्छ /दीर्घकालीन फाइदा हुने योजना अविलम्व गर्नुपर्छ / सार्वजनिक यातायातमा नेपाल सरकारको प्रोएक्तिभ भूमिका हुनुपर्ने देखिन्छ / संधै भारी निजी क्षेत्रको भारमा छोडेर मात्र हुन्न/ स्वार्थ नहेरी निजी क्षेत्रले पनि लगानी गर्दैन / त्यसैले यसमा ढिलो गर्दा हरेक सेवाग्राहीले सास्ती भोगिरहनुपर्ने अवस्था छ अहिले /
आशिष गजुरेल
Nov. 26, 2019, 1:25 p.m.एक दम ठिक कुरो हो | परियोजना छनौट गर्दा गहन विश्लेषण गर्नु पर्ने हुन्छ |