काम नगर्ने  र ढिलाइ गर्ने ४ वटा ठेकेदार कम्पनी कालो सूचीमा

 मंसिर १०, २०७६ मंगलबार ११:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सार्वजनिक खरिद अनुगमनको कार्यालयले तोकिएको समयमा काम नगर्ने ४ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद नियमावलीको दफा ६३ को उपदफा १ बमोजिम तोकिएको समयमा काम गर्ने र सम्झौतामा उल्लेख भएअनुसारको काम नगर्ने ठेकेदारलाई विभिन्न सार्वजनिक निकायको सिफारिसमा कालो सूचीमा राखिएको  कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद ऐनमा काममा ढिलाइ गर्ने या सम्झौताअनुसारको काम नगर्ने ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राख्ने व्यवस्था छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार पोखरा महानगरपालिकाको सिफारिसमा श्री होराइजन विल्डर्स पोखरालाई एक वर्ष कालोसूचीमा राखिएको छ । 
स्वास्थ्य निर्देशनालय राजपुर डोटीको  सिफारिसमा तिवारी मेडिसिन डिष्ट्रिब्युटर धनगढीलाई २ वर्ष कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

नेपाली सेनाको संग्राम शार्दुल गुल्म बझाङको सिफारिसमा श्रीकृष्ण कन्स्ट्रक्सन/त्याडी निर्माण सेवा जेभी बझाङलाई १ वर्ष कालो सूचीमा राखिएको छ भने सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको सिफारिसमा श्री ओम श्री ओम इन्टरप्राइजेज मिनभवन काठमाण्डौलाई १ वर्ष कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय ताहाचल काठमाण्डौले जनाएको छ ।

अन्तिम अपडेट: असार १, २०७७

तपाईको प्रतिक्रिया